सुनसरी । सुनसरी स्थित बराहक्षेत्र नगरपालिका–१ चतराधाममा ‘जगद्गुरु श्रीरामानन्दाचार्य गुरुकुल’ को कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गरेका छन् ।
नेपाल पीठाधीश एवं संरक्षक अनन्त श्री विभूषित जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबाको अगुवाइमा खोलीएको गुरूकुल आइतबार एक कार्यक्रमका वीच उद्घाटन गरिएको हो ।
वैदिक सनातन संस्कार, आधुनिक गुणस्तरीय शिक्षा तथा आध्यात्मिक जीवनदर्शनलाई समन्वय गरी सञ्चालन गरिएको यस गुरुकुलमा कक्षा ६ देखि १२ सम्म अंग्रेजी माध्यमद्वारा शिक्षण गराइने भएको छ। यसका साथै योग, ध्यान, वेदव्याकरण, संस्कार, संस्कृति तथा अनुशासित गुरुकुलीय जीवनशैलीमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकास गर्ने उद्देश्य राखिएको जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबाले जानकारी दिए ।
उद्घाटन समारोहमा बोल्दै पर्यटन,वन तथा वातावरण मन्त्री पराजुलीले हरेक विद्यालयमा संस्कृत शिक्षालाई अनिवार्य पढाइमा समावेश गर्नुपर्ने बताए । उनले धर्मको माध्यमबाट मानिसमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताए । युवालाई धार्मिक साथै संस्कारी बनाउन आवश्यक रहेको पनि औंल्याए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।