विराटनगर । भारतले नेपाली तयारी चियामाथि नयाँ कानुनी तगारो लगाएपछि नेपालबाट भारततर्फ हुने चिया निर्यात पूर्ण रूपमा ठप्प भएको छ ।
भारतीय चिया बोर्डले प्रत्येक गाडीमा रहेको चियाको नमूना अनिवार्य प्रयोगशाला परीक्षण गर्नुपर्ने नयाँ प्रावधान लागू गरेपछि नेपाली चिया निर्यात रोकिएको हो ।
मे १ देखि लागू गरिएको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ अनुसार अब नेपालबाट भारत जाने हरेक चिया बोकेको गाडीको छुट्टाछुट्टै नमूना परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि एउटा नमूना परीक्षणपछि तीन महिनासम्म वा २० वटा गाडीसम्म चिया निर्यात गर्न पाइने सुविधा थियो ।
नयाँ नियम लागू भएसँगै काँकडभिट्टा नाकाबाट भारततर्फ गएका चिया बोकेका गाडीहरू भारतीय नाका पानीट्यांकीमा रोकिएका छन् । अबरोधपछि उद्योगीहरूले थप चिया पठाउनसमेत रोकेका छन् ।
मेची उद्योग वाणिज्य संघ मेचीनगरका कार्यकारी निर्देशक गोपाल बस्नेतका अनुसार भारतले सीमा नजिक कुनै प्रयोगशाला स्थापना नगरेकाले नमूना परीक्षणका लागि कोलकाता पठाइन्छ । त्यहाँबाट रिपोर्ट आउन कम्तीमा एकदेखि दुई साता लाग्ने भएकाले निर्यात प्रक्रिया अवरुद्ध बनेको हो ।
चिया उद्योगीहरूले लामो समय गाडीमै चिया राख्नुपर्दा गुणस्तर बिग्रने, लागत बढ्ने र बजार प्रतिस्पर्धा कमजोर हुने चिन्ता व्यक्त गरेका छन् । नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले भारतीय बजार नै गुम्ने खतरा बढेको बताए ।
नेपाल सरकारले हालै भन्सार नाकाहरूबाट सय रूपैयाँभन्दा बढीका सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने प्रावधानले भारतीय पक्ष रिसाएको हुनसक्ने अनुमान उद्योगीले गरेका छन् । ‘नेपालको सामान र इन्डियाको सामानको भाडा तथा विवरण सही रूपमा भर्नुपर्छ भनेर कडाइ गरेपछि उनीहरूले यो चिजलाई ठूलो इस्यु बनाएर उठाएजस्तो लाग्छ’ पराजुलीले भने।
नेपालले सीमा नजिकै प्रयोगशाला स्थापना गरिदिन दशकौंदेखि आग्रह गर्दै आए पनि भारतीय पक्षले सुनेको छैन । त्यसको लागि सरकारले पनि पहल गरेको छैन । जसले गर्दा नेपालमा उत्पादित कृषि वस्तुहरूको निर्यातलाई झन्झटिलो बनाएको छ।
चिया, अदुवा, अम्लिसो, अलैंची लगायतका वस्तुको मुख्य बजार भारत हो। तीमध्ये प्रशोधन भएर तयारी अवस्थामा भारतीय बजार पुग्ने वस्तु चिया हो। चिया उद्योगीहरूका अनुसार भारतको नयाँ प्रबन्धले लागत र झन्झट दुवै बढाइदिएको छ।
दार्जिलिङ र इलामको चिया समान भूगोल र गुणस्तरका भएकाले नेपाली चियामाथि फरक व्यवहार नगर्ने वातावरण बनाउन सरकारले पहल गर्नुपर्ने चिया उद्योगीको भाग छ । भारतीय बजारमा नेपाली चियाले बलियो उपस्थिति बनाएकै कारण विभिन्न बहानामा अवरोध सिर्जना हुने गरेको उद्योगीहरूको आरोप छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड नेतृत्वविहीन अवस्थामा रहेकाले समस्या समाधानका लागि सरकारी समन्वय हुन सकेको छैन । सरकारले तत्काल कूटनीतिक पहल गरी निर्यात सहज बनाउनुपर्नेमा कुनै ध्यान नदिएको गुनासो उद्योगीले गरेका छन् ।
प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले अध्यादेशमार्फत सबै राजनीतिक नियुक्ति खारेज गर्दा चिया तथा कफी विकास बोर्ड पनि नेतृत्वविहीन बनेको हो। यस्तो बेला कोसँग हारगुहार माग्ने भनेर मेसो नपाएको चिया उद्योगीहरू बताउँछन्।
नेपालमा वार्षिक १ करोड ९० लाख किलो सिटिसी चिया उत्पादन हुन्छ । त्यसमध्ये करिब १ करोड किलो भारत निर्यात हुन्छ । त्यस्तै ७० लाख किलो अर्थोडक्स चियामध्ये ६० लाख किलो भारतीय बजार पुग्ने गरेको छ ।
चिया क्षेत्रबाट नेपालले हरेक वर्ष साढे चार अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा आर्जन गर्दै आएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।