लोड हुँदैछ...

मेनु

सुदनलाई वरिष्ठ नेता दुई पदाधिकारी र १५ केन्द्रीय सदस्य दिन हर्क तयार

सुदनलाई वरिष्ठ नेता दुई पदाधिकारी र १५ केन्द्रीय सदस्य दिन हर्क तयार

विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र पूर्वमन्त्री सुदन किराती नेतृत्वको समूहबीच पार्टी एकताको विस्तृत खाकासहित सहमति जुटेको छ । गएराति दुई पक्षबीच भएको सघन वार्तापछि शक्ति बाँडफाँट र संगठनात्मक स्वरूपमा कुरा मिलेको हो।

सुदन किरातीका सहयोगी राजन समीपका अनुसार एकीकृत पार्टीमा किराती समूहले ‘वरिष्ठ नेता’ सहित थप दुई पदाधिकारी पाउने भएका छन् । सहमतिअनुसार किरातीले वरिष्ठ नेताको भूमिका पाउनेछन् भने उनको समूहबाट एक जना उपाध्यक्ष र एक जना सचिव चयन गरिनेछ ।

त्यसैगरी, एकीकृत पार्टीको केन्द्रीय समितिमा किराती समूहबाट १५ जनालाई समेट्ने सहमति भएको छ ।
वरिष्ठ नेताको जिम्मेवारी पाउन लागेका किरातीले १५ जना केन्द्रीय सदस्यहरूको नाम भने अझै टुङ्ग्याएका छैनन् । तर, ती सदस्यहरूमा उनले यसअघि आबद्ध रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेताहरूका साथै समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूलाई समेट्ने तयारी गरेका छन् । स्रोतका अनुसार उनले केही पूर्व एआइजी हरू र विभिन्न विधाका विज्ञहरूलाई पार्टीको केन्द्रीय संरचनामा ल्याएर हर्क साम्पाङलाई नाम बुझाउने तयारी गरिरहेका छन् ।
पूर्वमाओवादी नेतासमेत रहेका किरातीले हालै प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका थिए । गत निर्वाचनमा पनि किरातीले साम्पाङको श्रम संस्कृति अभियानलाई प्रत्यक्ष रूपमा सघाएका थिए । लामो समयदेखिको सहकार्यलाई अब औपचारिक पार्टी एकतामा बदल्न लागिएको हो ।

सहमतिअनुसार आजै संघीय राजधानी काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गरी एकताको घोषणा गर्ने तयारी गरिएको छ । किराति निकट स्रोतका अनुसार उनलाई कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा श्रम संस्कृति पार्टीले अगाडी बढाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।