विराटनगर । नेपाली सेनाको श्री नं. २ वाहिनी अड्डा, हिले ब्यारेकमा ‘वाहिनीपति ट्रफी–२०८३’ सुरु भएको छ।
सैनिकहरूबीच सामूहिक भावनाको विकास गर्ने र आगामी ‘पृतनापति ट्रफी’ का लागि उत्कृष्ट खेलाडी पहिचान गर्ने लक्ष्यका साथ यो प्रतियोगिता आयोजना गरिएको हो ।
यो प्रतियोगिता राष्ट्रिय स्तरका सम्भावित खेलाडीहरूको खोजी गर्ने एउटा महत्त्वपूर्ण मञ्च पनि हो। यस वर्ष फुटबल, बास्केटबल, भलिबल, जुडो, बक्सिङ, तेक्वान्दो, कबड्डी, पौडी र एथलेटिक्स गरी कुल ९ विधामा खेलहरू सञ्चालन हुने सेनाले जनाएको छ।
प्रतियोगितामा श्री नं. २ वाहिनी अड्डा मातहतका विभिन्न युनिटहरू सहभागी छन्। यसमा धनकुटाको भीमदल गण, सुनसरीको भगवतीदल गण र भीमकाली गुल्म, मोरङको शिवदल गण, भोजपुरको नयाँ श्रीनाथ गण, संखुवासभाको इन्द्रदल र रणदल गुल्म तथा तेह्रथुमको शत्रुमर्दन गुल्मका खेलाडीहरूले पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिताका अधिकांश खेल धनकुटाको हिले ब्यारेक, सल्लेरी ब्यारेक र तल्लो टुँडिखेलमा हुनेछन्। यद्यपि, पौडी प्रतियोगिताका लागि भने सुनसरीमा पूर्वाधार तय गरिएको छ।
यसअघि वैशाख २३ गते आयोजित एक विशेष समारोहका बीच वाहिनीपति सहायक रथी दिवाकर विक्रम राणाले प्रतियोगिताको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि र जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरूको समेत उपस्थिति थियो। यो खेल उत्सव वैशाख ३१ गतेसम्म चल्नेछ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।