लोड हुँदैछ...

मेनु

बाढी–पहिरोले केहि सडक पूर्णरूपमा अवरुद्ध, केहि सडकमा एकतर्फी सवारी

बाढी–पहिरोले केहि सडक पूर्णरूपमा अवरुद्ध, केहि सडकमा एकतर्फी सवारी

काठमाडौं । देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले आज पनि धेरै राजमार्गहरू अवरुद्ध भएका छन्। केही स्थानमा पहिरो पन्छाएर यातायात सुचारु गरिए पनि मुख्य सडकखण्डहरूमा अझै समस्या देखिएको छ।

प्रहरीका अनुसार बाढी र पहिरोका कारण काभ्रे खण्डमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। काभ्रेको नमोबुद्ध नगरपालिका –६ चौकीडाँडा र रोशी गाउँपालिका–७ को घुमाउने तथा चारसयबेँसी लगायतका ठाउँमा खसेको पहिरोले सडक ठप्प पारेको हो। जोखिमलाई मध्यनजर गर्दै प्रहरीले बीपी राजमार्गकै खुर्कोट–नेपालथोक सडकखण्डमा पनि सवारी सञ्चालनमा रोक लगाएको छ।

यसैगरी, इलामको रोङ गाउँपालिका–६ सलकपुरमा पहिरो जाँदा इलाम–झापा सडकखण्ड पनि अवरुद्ध भएको छ।
केही दिनदेखि अवरुद्ध रहेका केही प्रमुख मार्गहरू भने आज बिहानदेखि सञ्चालनमा आएका छन्। ललितपुरको बागमती नगरपालिका–३ भालुखोलामा मंगलबार खसेको पहिरो पन्छाएपछि कान्ती लोकपथमा आज बिहानैदेखि गाडी चल्न थालेका छन्।

त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ इकुमा सोमबार झरेको पहिरो सफा गरेपछि अरनिको राजमार्गमा पनि यातायात सुचारु भएको छ। ताप्लेजुङको मेरिङदेन गाउँपालिका५ मा खसेको पहिरो पन्छाएर भित्री सडक खण्डमा सवारी साधन चल्न थालेका छन्।

बाढी र पहिरोका कारण केही स्थानमा भने सडक एकतर्फी मात्र खुलेका छन्। भोजपुरको भोजपुर नगरपालिका–५ बोखिममा सडक एकतर्फी छ भने म्याग्दीको बेनी–जोमसोम सडक र लमजुङमा मध्यपहाडी राजमार्ग पनि पहिरोका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

अवरुद्ध भएका अन्य सडकहरूमा पनि पहिरो पन्छाएर यातायात सुचारु गराउने प्रयास जारी रहेको सुरक्षा निकायले जनाएको छ। वर्षा जारी रहेकाले यात्रा गर्दा सावधानी अपनाउन र सडकको अवस्था बुझेर मात्र निस्कन प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।