इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले मनोमानी रूपमा शुल्क वृद्धि गरेको गुनासो अभिभावकहरूले गरेका छन् ।
नयाँ शैक्षिक सत्र सुरु भएसँगै अधिकांश विद्यालयले मासिक शुल्कमा करिब १५ प्रतिशतसम्म वृद्धि गरेका छन् । यस्तै, भर्ना, परीक्षा, यातायात, अतिरिक्त कक्षा, कम्प्युटर, प्रयोगशाला, पोसाकलगायत विभिन्न शीर्षकमा छुट्टाछुट्टै शुल्क असुलिँदै आएको गुनासो छ।
अभिभावकहरूका अनुसार विद्यालयहरूले पुस्तक, पोसाक र स्टेशनरीसमेत आफ्नै स्रोतबाट खरिद गर्न दबाब दिने गरेका छन्। “बच्चा राम्रो पढोस् भनेर निजी विद्यालयमा राखिएको हो, तर, हरेक महिना नयाँ–नयाँ शीर्षकमा शुल्क मागिन्छ, अब धान्नै गाह्रो भयो,” एक अभिभावकले गुनासो गरे। विशेषगरी मध्यम र न्यून आय भएका परिवारका लागि यस्तो शुल्क ठूलो आर्थिक बोझ बनेको छ।
स्थानीय तहसँग विद्यालयको शुल्क निर्धारण र अनुगमन गर्ने अधिकार भएपनि इटहरी उपमहानगरपालिकाले प्रभावकारी कदम चाल्न नसकेको आरोप लाग्दै आएको छ। उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत द्रोण दाहालले भने निजी विद्यालयले दुईतिहाइ अभिभावकको सहमतिबिना शुल्क वृद्धि गर्न नपाउने बताएका छन् ।
नगरप्रमुख बिदामा रहेकाले शिक्षा समितिको बैठक बस्न ढिलाइ भएको भन्दै उनले छिट्टै निर्णय हुने जानकारी दिए । इटहरीमा हाल १३७ निजी विद्यालय सञ्चालनमा छन्। प्याब्सन इटहरी नगर अध्यक्ष सूर्यमणि निरौलाले सेवा र सुविधाको आधारमा केही शीर्षकमा शुल्क लिनु स्वाभाविक भएको दाबी गर्दै मनोमानी शुल्क वृद्धि भएको आरोप अस्वीकार गरेका छन्।
अभिभावकहरूले शिक्षा क्षेत्रमा बढ्दो व्यापारीकरणप्रति चिन्ता व्यक्त गरेका छन्। उनीहरूले शुल्क संरचना पारदर्शी बनाउन, अतिरिक्त शुल्कको मापदण्ड तय गर्न, अभिभावक प्रतिनिधिसहित अनुगमन समिति गठन गर्न तथा गुनासो समाधान संयन्त्र सक्रिय बनाउन माग गरेका छन्।
शिक्षा आधारभूत अधिकारसँग जोडिएको विषय भएकाले यसलाई पूर्ण रूपमा बजारमा छाड्न नहुने भन्दै अभिभावकहरूले स्थानीय सरकारसँग तत्काल हस्तक्षेपको माग गरेका छन्।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।