विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा भोलि सोमबार आयोजना हुन लागेको ‘वुमन लिडरसिप समिट २०२६’ ले स्थानीय उद्यमशीलता, कृषि र नवप्रवर्तनलाई महिला नेतृत्वसँग जोड्दै क्षेत्रीय अर्थतन्त्रमा नयाँ बहस सुरु गर्ने सङ्केत दिएको छ।
नेपाल उद्योग परिसंघ (CNI), नेपाल उद्योग परिसंघ कोशीको सयुक्त आयोजनामा हुन लागेको यस सम्मेलनलाई केवल औपचारिक कार्यक्रमभन्दा पनि कोशी प्रदेशको आर्थिक संरचनालाई पुनः परिभाषित गर्ने अवसरका रूपमा हेरिएको छ।
समिटको तयारी पूर्ण रूपमा सकिएको आयोजक समितिले जनाएको छ। समिटकी संयोजक गिरिजा सारडाका अनुसार सम्मेलनले कोशी प्रदेशका महिलालाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रमको संरचना तयार गरिएको छ।
उनले स्थानीय स्रोत–साधन, सीप र सिर्जनशीलतालाई बजारसँग जोड्न नसक्दा महिलाहरूको क्षमता पूर्ण रूपमा उपयोग हुन नसकेको उल्लेख गर्दै यो समिटले त्यही खाडल पूर्ति गर्ने प्रयास गर्ने बताइन्।
‘महिलालाई उद्यमशीलतामा प्रेरित गर्नु मात्र होइन, उनीहरूको उत्पादन र सीपलाई बजारसँग जोड्ने वातावरण सिर्जना गर्नु पनि हाम्रो लक्ष्य हो,’ उनले भनिन्।
सारडाका अनुसार विशेषगरी ग्रामीण र अर्धसहरी क्षेत्रका महिलालाई लक्षित गर्दै कार्यक्रम तयार गरिएको छ। उनका अनुसार स्थानीय स्तरमा उपलब्ध कृषि, पशुपालन र साना उद्योगसँग सम्बन्धित अवसरहरूलाई व्यावसायिक ढाँचामा रूपान्तरण गर्न समिटले मार्गदर्शन गर्नेछ।
‘महिलालाई रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने स्थानमा पु¥याउनु हाम्रो लक्ष्य हो,’ उनले भनिन्।
समिटमा कृषि, पशुपालन, उत्पादन र डिजिटल प्रविधिबिचको सम्बन्धलाई जोड्दै मूल्य शृङ्खला विकासबारे गहन छलफल हुने जनाइएको छ। स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने रणनीति, डिजिटल प्लेटफर्मको प्रयोग र वित्तीय पहुँच विस्तारजस्ता विषयहरू प्रमुख एजेन्डा रहनेछन्।
परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले प्रदेशको आर्थिक विकासलाई तीव्र बनाउन महिला सहभागिता निर्णायक हुने बताए। उनले औद्योगिक तथा व्यावसायिक क्षेत्रमा महिलाको उपस्थिति बढ्दै गए पनि नेतृत्व तहमा अझै चुनौती रहेको उल्लेख गर्दै यस्ता सम्मेलनले नेतृत्व निर्माणमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे।
सारडाले महिला सशक्तीकरणलाई आर्थिक एजेन्डासँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै समिट त्यस दिशामा केन्द्रित हुने बताए। उनले कोशी प्रदेशका प्रत्येक क्षेत्रमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्रले समेत सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।
कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले गर्ने तय भएको छ। सम्मेलनमा उद्योग, बैंकिङ, कृषि, प्रविधि तथा नीतिगत क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ, जसले बहुआयामिक छलफलको वातावरण तयार गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सबिना काफ्ले, CNI महिला उद्यम समितिकी अध्यक्ष विदुषी राणा, CNI का केन्द्रीय अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा बैंकर अनिल केशरी शाह सहभागी हुने आयोजकले जनाएको छ। साथै काठमाडौँ र कोशी प्रदेशका विभिन्न सङ्घ–संस्थाका पदाधिकारीहरूले समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।