लोड हुँदैछ...

मेनु

विराटनगरका महिलाहरू बजारमुखी स्वस्थ खाजा बनाउने सीप सिक्दै

विराटनगरका महिलाहरू बजारमुखी स्वस्थ खाजा बनाउने सीप सिक्दै

विराटनगर । उद्योग संगठन मोरङको महिला उद्यम समितिको आयोजना तथा एस्पायर कलेजको समन्वयमा विराटनगरका महिलाहरूले बजारमुखी स्वस्थ खाजा बनाउने व्यावसायिक सीप सिकेका छन्। महिलाहरूलाई स्वास्थ्यमैत्री खाजा बनाउने व्यावहारिक ज्ञान र सीप प्रदान गरी उद्यमशीलता र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यले दुई दिने ुस्वस्थ स्न्याक्सु तालिम सम्पन्न भएको हो ।

तालिमको समापनमा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले पछिल्लो समय उपभोक्तामा स्वास्थ्यप्रति सचेतना बढेकाले पोषणयुक्त र स्वच्छ खानाको माग उल्लेखनीय रूपमा वृद्धि भएको बताए । यही आवश्यकतालाई मध्यनजर गरी आयोजना गरिएको यस तालिमले महिलाहरूमा रहेको सीपलाई व्यावसायिक अवसरमा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास थियो ।

त्यस्तै, संगठनका कार्यसमिति सदस्य एवं महिला समिति इन्चार्ज किरण ब्यासले आजको परिवेशमा स्वस्थ खाजा उत्पादन आयआर्जनको उत्कृष्ट माध्यम बन्न सक्ने उल्लेख गरे । उनले यस प्रकारको तालिमले महिलाहरूमा रहेको सीपलाई व्यावसायिक रूपान्तरण गरी आर्थिक रूपमा सबल बन्न प्रेरित गर्ने बताए ।

महिला उद्यम समितिकी संयोजक जयन्ती आचार्यले तालिमको मुख्य ध्येय परिकार बनाउन सिकाउनु मात्र नभई त्यसलाई आम्दानीको स्रोतमा रूपान्तरण गर्ने व्यावसायिक सोच विकास गराउनु रहेको स्पष्ट पारे । बजारमा प्रतिस्पर्धा गर्नका लागि गुणस्तरीय उत्पादनसँगै आधुनिक प्रस्तुतीकरण र आकर्षक प्याकेजिङको विशेष महत्व हुनेमा उनले जोड दिए ।

प्रशिक्षक अखिलेश प्रताप सिंहले सहभागीहरूलाई स्वस्थ स्न्याक्स निर्माणका व्यावहारिक विधिहरूका साथै स्वच्छता, खाद्य सुरक्षा र व्यावसायिक खाजा व्यवस्थापन सम्बन्धी ज्ञान प्रदान गरेका थिए । महिलाहरूको सीप विकासमार्फत उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस तालिमले सहभागीहरूलाई आत्मनिर्भर बन्न र आफ्नै व्यवसाय सुरु गर्न ठोस सहयोग पुग्ने अपेक्षा संगठनले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।