विराटनगर । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको २६ लाख ९८ हजार नेपाली रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, विराटनगरबाट काठमाडौं जान लागेका यात्रुहरूलाई चेकजाँच गर्ने क्रममा छुट्टाछुट्टै दिन र उडानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो।
वैशाख १८ गते बेलुका करिब ८ः०० बजे बुद्ध एयरको उडानमार्फत काठमाडौं जान लागेका सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १८ बस्ने ३५ वर्षीय दिलीप तामाङ पक्राउ परेका हुन्। सुरक्षा जाँचका क्रममा उनको झोलाबाट स्रोत नखुलेको नगद ११ लाख रुपैयाँ बरामद भएको थियो।
त्यसैगरी, वैशाख १९ गते दिउँसो करिब ३ः३५ बजे श्री एयरलाइन्सको उडानबाट काठमाडौं जान लागेका भारतको मालदा जिल्ला, सुजा गन्ज सिन्धा चन्चला बस्ने ३६ वर्षीय मोहिदिल अलि पक्राउ परेका छन्। प्रहरीले उनको झोलाबाट स्रोत खुलाउन नसकेको १५ लाख ९८ हजार रुपैयाँ फेला पारेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक कोपिला चुडालका अनुसार अनुसार, दुवै जनाको साथबाट गरी कुल २६ लाख ९८ हजार रुपैयाँ बरामद भएको छ।
स्रोत नखुलेको मोटो रकमसहित पक्राउ परेका दुवै जनालाई बरामद गरिएको नगदसहित जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको र यस सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।