काठमाडौं । काठमाडौंको बल्खुस्थित सुकुमवासी बस्ती खाली गरिएपछि उत्पन्न तनावबीच एक व्यक्तिको शव नजिकैको बागमती खोलामा फेला परेको छ।
मृतक खोटाङ पुर्खौैली घर भई बल्खु क्षेत्रमा बस्दै आएका ६१ वर्षीय इन्द्रबहादुर राई रहेको परिवारले जनाएको छ।
परिवारका अनुसार शुक्रबार बिहान घर भत्काइएको दृश्य सहन नसक्ने भन्दै उनी घरबाट निस्किएका थिए। “घर भत्किएको हेर्न सक्दिनँ भन्दै एक्लै निस्किनुभएको थियो,” उनकी पत्नी सरिता राईले भनिन्, “दिउँसो यस्तो अवस्थामा भेटिनुभयो।”
स्थानीयका अनुसार राईको परिवार विगत १६–१७ वर्षदेखि बल्खुको सुकुमवासी बस्तीमा बस्दै आएको थियो। उनी बल्खुस्थित तरकारी बजार (सब्जीमण्डी) मा काम गर्ने गर्थे।
बस्ती खाली गराउने क्रममा घर भत्काइएपछि धेरै परिवार विस्थापित भएका छन्। सोही क्रममा राई मानसिक रूपमा अत्यन्त तनावमा परेका थिए भन्ने स्थानीयको भनाइ छ। घटनापछि उनकी पत्नी र छोरा घटनास्थलमै पुगेका छन् र परिवार शोकमा डुबेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले मृतकको पहिचान खुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीले मृत्युको कारण खुलाउन पोस्टमार्टम रिपोर्ट पर्खिरहेको जनाएको छ।
घटनालाई शंकास्पद मानिएको भएपनि परिवार र स्थानीयले भने घर भत्काइएपछि आएको मानसिक पीडाकै कारण यस्तो अवस्था आएको हुन सक्ने बताएका छन्। सरकारले सुकुमवासी बस्ती खाली गराउने अभियान सञ्चालन गरिरहँदा यस घटनाले विस्थापित नागरिकको अवस्था र उनीहरूको मानसिक स्वास्थ्यबारे गम्भीर प्रश्न उठाएको छ।
यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए। सरकारले घर भत्काउने सूचना जारी गरेपछि रविन तामाङले आत्महत्या गरेका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।