विराटनगर । सुनसरीको गढी गाउँपालिकाले विद्यालय भर्ना प्रक्रियामा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ।
नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान चलिरहँदा गाउँपालिकाले सूचना जारी गर्दै विद्यार्थी भर्ना गर्दा अभिभावकले अनिवार्य रूपमा खोप कार्ड पेश गर्नुपर्ने व्यवस्था गरेको हो।
गाउँपालिकाका अनुसार खोप कार्ड नभएका बालबालिकाको विवरण विद्यालयले सम्बन्धित स्वास्थ्य कार्यालयमा पठाउनुपर्नेछ। पालिका खोप समन्वय समितिका अध्यक्षसमेत रहेका अध्यक्ष आशनारायण चौधरीद्वारा जारी निर्देशनमा खोप ऐन, २०७२ को दफा ३३ अनुसार विद्यालयहरूले भर्नाका बेला खोप कार्ड माग गर्न सक्ने कानुनी आधार रहेको उल्लेख गरिएको छ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत समावेश भएका तर खोप नलिएका बालबालिकाको अभिलेख राखी स्वास्थ्य संस्थामा जानकारी गराउने व्यवस्था समेत गरिएको छ। उपलब्ध तथ्यांकअनुसार नेपालमा जन्मेदेखि १५ महिनासम्मका करिब ४ प्रतिशत बालबालिका ‘शून्य डोज’ अर्थात् कुनै पनि खोप नलिएका छन्।
कोशी प्रदेशमा यो दर करिब ६ प्रतिशत छ । गढी गाउँपालिकामा भने अत्यन्त न्यून करिब ०.००००२ प्रतिशत मात्र रहेको जनाइएको छ।
सबै बालबालिकाले निर्धारित समयमै पूर्ण खोप पाएको सुनिश्चित गर्न तथा विशेषगरी ५ वर्षमुनिका खोपबाट वञ्चित बालबालिकालाई छुट खोप सेवामा समेट्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।