लोड हुँदैछ...

मेनु

विदेशबाट फर्किएकाको सिप स्थानीय उद्योगमा सदुपयोग गर्न जोड

विदेशबाट फर्किएकाको सिप स्थानीय उद्योगमा सदुपयोग गर्न जोड

विराटनगर । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको ज्ञान र सिपलाई स्थानीय स्तरमै सदुपयोग गर्दै उनीहरूको समाजमा पुनः एकीकरण गर्ने उद्देश्यले झापाको मेचीनगरमा स्थानीय तह स्तरीय समन्वय बैठक सम्पन्न भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र रेमी परियोजनाको आयोजना तथा मेची नगरपालिका र मेची उद्योग वाणिज्य संघ, झापाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष ऋषि तिम्सिनाले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको सिप र दक्षतालाई स्थानीय सेवा तथा उत्पादनमूलक उद्योगमा प्रयोग गर्न जोड दिए । उनले यसो गर्न सकेमा उद्योग प्रतिष्ठानहरूको उत्पादन लागतसमेत कम हुने बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरपालिकाले विदेशबाट फर्केका र स्थानीय बेरोजगार युवाहरूलाई लक्षित गरी रोजगारी सिर्जना गर्न स्थानीय उद्योग तथा होटलहरूसँग निरन्तर समन्वय गरिरहेको बताए ।

छलफलका क्रममा स्थानीय उद्योगी व्यवसायीहरूले सिपयुक्त जनशक्तिलाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन्। मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्रीले आफ्नो भेनियर उद्योगमा करिब ६० जना सिपयुक्त जनशक्तिलाई रोजगारी दिन सक्ने बताए । यस्तै, होटल अस्वथका प्रतिनिधिले आगामी दिनमा दक्ष जनशक्ति उत्पादन तथा व्यवस्थापनका लागि सहकार्य गरेर अघि बढ्न तयार रहेको धारणा राखे ।

कार्यक्रममा भेनियर संघका अध्यक्ष श्याम न्यौपाने र अलैँची व्यवसायी महासंघका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले युवाहरूलाई स्वरोजगार बनाउन रेमी परियोजनाले आवश्यकता अनुसारको विषयगत तालिमको व्यवस्था गर्नुपर्ने माग गरे।
कार्यक्रममा रेमी परियोजनाकी कार्यक्रम अधिकृत रिता विश्वासले परियोजनाको उद्देश्य र गतिविधिबारे प्रकाश पारेका थिए भने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारामण भण्डारी (श्याम)ले महासंघ र रेमी परियोजनाको सहकार्यमा सञ्चालित कार्यक्रमहरूबारे जानकारी गराए ।

कार्यक्रममा मेची नगरपालिकाका रोजगार परामर्शदाता फडिन्द्र दाहालले मेचीनगर क्षेत्रमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको अवस्था र तथ्याङ्क समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।