विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशको आयोजनामा आगामी वैशाख २१ गते विराटनगरमा राष्ट्रिय स्तरको ‘वमन लिडरसिप समिट २०२६’ आयोजना हुने भएको छ । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै परिसंघले सम्मेलनबारे जानकारी दिएको हो ।
कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकासँगको सहकार्यमा हुने यस सम्मेलनको मुख्य नारा “दिगो समृद्धितर्फः कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तन” तय गरिएको छ । सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम छ ।
परिसंघका अनुसार महिला नेतृत्व क्षमता अभिवृद्धि गर्ने, स्थानीय कृषि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा महिला उद्यमीहरूका सफल कथा आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा आर्थिक, औद्योगिक, बैंकिङ र राजनीतिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको प्रस्तुति रहनेछ ।
सम्मेलनका मुख्य आकर्षणहरूमा डिजिटल नवप्रवर्तनसम्बन्धी छलफल, स्वदेशी वस्तुहरूको प्रदर्शनी र नीति निर्माता तथा उद्यमीहरूबीच नेटवर्किङ रहनेछन् । परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन कुमार सारडाले यस सम्मेलनले देशभरका महिला उद्यमी र लगानीकर्ताहरूलाई एकै ठाउँमा ल्याई समावेशी आर्थिक वृद्धिको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विराटनगरस्थित होटल मनास्लु इनमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने यस कार्यक्रमको संयोजन सीएनआई वमन लिडरसिप फोरम र कोशी प्रदेशको महिला उद्यम समितिले गरेका छन् । सम्मेलनमा कोशी प्रदेशका विभिन्न जिल्लाका महिला उद्यमी, विकास साझेदार र वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।