लोड हुँदैछ...

मेनु

अध्यादेशको दबाबपछि त्रिविका पदाधिकारीले दिए राजीनामा

अध्यादेशको दबाबपछि त्रिविका पदाधिकारीले दिए राजीनामा

काठमाडौं । सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्ने उद्देश्यसहित अध्यादेश सिफारिस गरेपछि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् ।

सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको हो । सरकारलाई मार्गप्रशस्त गर्न राजीनामा दिएको रेक्टर प्रा.डा. खड्ग केसीले जानकारी दिएका छन् ।

त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले बिहीबार राजीनामा दिएका हुन् । आज बिहान बसेको पदाधिकारी बैठकले नयाँ सरकारलाई काम गर्न सहज वातावरण बनाउन मार्गप्रशस्त गर्ने निष्कर्ष निकालेको थियो ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरेर उनीहरुले राजीनामा दिएका हुन् । उपकुलपति अर्याललाई २०८२ असार २५ मा तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो । त्यसअघि प्रा.डा. केशरजंग बराललाई प्रचण्ड नेतृत्वको सरकारले प्रतिस्पर्धाको आधारमा नियुक्त गरेको भएपनि ओली सरकारको दबाबपछि उनले राजीनामा दिएका थिए ।

शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल भने २०८० चैत ३० मा नियुक्त भएका थिए। सरकारले नियुक्त भएका सबै पदाधिकारी हटाउन अध्यादेश सिफारिस गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेशबारे अध्ययन गरिरहेको उनको कार्यालयले जनाएको छ ।

त्रिवि पदाधिकारीहरूको कार्यकाल चार वर्षको हुने व्यवस्था कानुनमा थियो । सरकारले अध्यादेशमार्फत कार्यकालको व्यवस्था नै हटाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।