काठमाडौँ । सरकारले इन्धनको मूल्यमा भएको वृद्धिसँगै सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा ५ प्रतिशतका दरले भाडा वृद्धि गरेको हो । विभागका अनुसार बढेको यो नयाँ भाडादर आज बुधबारदेखि नै लागू हुनेछ ।
विभागले अन्तरप्रदेश यात्रुबाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाउने निर्णय गरेको हो । हाल डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ पुगेको आधारमा स्वचालित प्रणाली अनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ ।
यसअघि सरकारले गत चैत २५ गते पनि यातायातको भाडा वृद्धि गरेको थियो । छोटो समयको अन्तरालमै फेरि भाडा बढाइएको भए पनि विद्युतीय सवारीसाधनको हकमा भने भाडा नबढ्ने विभागले स्पष्ट पारेको छ । विद्युतीय सवारीसाधनले यसअघि तोकिएको पुरानै भाडादरमा सेवा सञ्चालन गर्नुपर्नेछ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।