लोड हुँदैछ...

मेनु

महावीर पुनको सम्पत्ति कति ?

महावीर पुनको सम्पत्ति कति ?

काठमाडौँ । स्वतन्त्र सांसद तथा पूर्वमन्त्री महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । संघीय संसद् सचिवालयले विवरण सार्वजनिक नगर्ने शङ्का लागेपछि उनले आफैँ फेसबुकमार्फत आफ्नो चल–अचल सम्पत्तिको जानकारी गराएका हुन् । पुनले सार्वजनिक गरेको विवरणअनुसार उनको नाममा एउटा पनि घर छैन र उनी हाल कास्कीको हमालटोलमा भाडाको घर (डेरा)मा बस्दै आएका छन् ।

चितवनको राप्ती नगरपालिका–८ खुरखुरे टोल स्थायी ठेगाना भएका पुनको नाममा कास्कीको माझठाना–७ मा जग्गा रहेको छ । २०५२ सालमा करिब ४ लाख रुपैयाँमा खरिद गरिएको उक्त जग्गा ४ रोपनी ६ आना क्षेत्रफलको रहेको र अहिलेसम्म बिक्री नभएको उनले उल्लेख गरेका छन् । यस्तै, उनीसँग ३ तोला सुन रहेको छ, जुन २०६० सालमा श्रीमतीलाई इस्टमित्रले उपहार दिएको उनले बताएका छन् ।

सांसद पुनको दुईवटा बैंक खातामा गरी कुल २९ लाख रुपैयाँ नगद मौज्दात छ । यसमध्ये २५ लाख रुपैयाँ हालैको निर्वाचनमा शुभेच्छुकहरूबाट प्राप्त सहयोगबाट बचेको रकम हो, जसलाई उनले बेनीस्थित आफ्नो सम्पर्क कार्यालय सञ्चालनमा खर्च गरिरहेका छन् । बाँकी ४ लाख रुपैयाँ साथीभाइबाट व्यक्तिगत खर्चका लागि प्राप्त भएको उनले जानकारी दिएका छन् । उनीसँग कुनै पनि सवारीसाधन र बैंक सेयर भने छैन ।

आफ्नो आत्मकथाको २ लाख ५० हजार प्रति बिक्री गरेर आएको रकम राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइरहेको स्पष्ट पार्दै पुनले आफूमाथि रिस गर्ने र पैसा थुपारेको आरोप लगाउनेहरूलाई छानबिन गर्न चुनौती दिएका छन् । यसअघि शिक्षा मन्त्री हुँदा पनि आफूले विवरण बुझाएको तर तत्कालीन सरकारले सार्वजनिक नगरेको गुनासो गर्दै उनले यी भौतिक सम्पत्ति भन्दा देश–विदेशमा रहेका असंख्य सहयोगीहरू नै आफ्नो असली र अमूल्य सम्पत्ति भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।