लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमा भारी वर्षाको सम्भावना: सतर्क रहन आग्रह

कोशी प्रदेशमा भारी वर्षाको सम्भावना: सतर्क रहन आग्रह

विराटनगर  । नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा विकसित भएको न्यून चापीय प्रणाली र पश्चिमी वायूको प्रभावले कोशी प्रदेशमा वर्षा र हावाहुरीको जोखिम बढेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको २४ घण्टामा कोशी प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा मापन गरिएको छ। जसअन्तर्गत सुनसरीको चतारामा ५९.६ मिलिमिटर, भोजपुरको दिङ्लामा ४९.८ र ताप्लेजुङमा ४६.४ मिलिमिटर वर्षा भएको छ।

महाशाखाले आज (बुधबार) दिउँसो र राति कोशी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। विशेषगरी कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा ‘भारी वर्षा’ को समेत सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। यस्तै, कोशीका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ।

कोशी प्रदेशका साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा आज वर्षा र हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

रातिको समयमा गण्डकी प्रदेशको पहाडी भू-भागमा पनि कोशीमा जस्तै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने थोरै स्थानमा मात्र वर्षा हुने र देशका बाँकी तराई भू-भागमा हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।