विराटनगर । काठमाडौँका गल्ली र लोकसेवाका इन्स्टिच्युटमा धेरैले आफ्नो जवानी र कैयौं रात अनिदो बिताउँछन्, तैपनि सफलताको स्वाद चाख्न कठिन हुन्छ । तर, यही भिडमा एक यस्ता पात्र छन्, जसका लागि लोकसेवाका परीक्षाहरू केवल एउटा औपचारिकता जस्तै बने । उनले लोकसेवाको परीक्षामा कहिल्यै पराजयको नमीठो स्वाद चाख्नु परेन, अर्थात् उनले जति वटा परीक्षा दिए, ती सबैमा पहिलो प्रयासमै सफलताको झण्डा गाडे । ती पात्र हुन्— कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव कृष्ण कुमार न्यौपाने । जो आफ्नो असाधारण सफलतालाई ‘प्रचार’ भन्दा बढी ‘विनम्रता’को घेराभित्र राख्न रुचाउँछन् र विज्ञापनबाट टाढै रहेर लो–प्रोफाइल स्वभावमा रमाउँछन् ।
उनको यो यात्रा केवल एक कर्मचारीको पदोन्नति मात्र होइन, बरु सरकारी विद्यालयमा पढ्ने लाखौं विद्यार्थीका लागि एउटा बलियो भरोसा पनि हो । २०५० साल भदौ २२ गते धनकुटाको महालक्ष्मी नगरपालिकाको एउटा मध्यमवर्गीय परिवारमा जन्मिएका उनको अक्षर आरम्भ गाउँकै अन्नपूर्ण निमाविबाट भएको थियो । अचेल धेरैमा एउटा भ्रम छ कि महँगो बोर्डिङ स्कुल नपढी लोकसेवामा नाम निस्कँदैन । तर, उनले ८ कक्षासम्म त्यही गाउँको सरकारी स्कुलको धुलोमा खेलेर आफ्नो शैक्षिक जग बसाले । उनले कक्षा ९ देखि १२ सम्म गोकुन्डेश्वर मावि र स्नातक भने लिबर्टी कलेजबाट पुरा गरे ।
उनलाई पढ्नका लागि कहिल्यै परिवारबाट ठूलो दबाब आएन, तर उनी आफैंभित्र एउटा कठोर अनुशासनमा बाँधिएका थिए । घरमा चार जना दिदीहरू पढाइमा निकै अब्बल हुनुहुन्थ्यो, जसको पदचाप र मिहिनेत नै कृष्णका लागि मुख्य प्रेरणा बन्यो । घरको कान्छो छोरो भए पनि उनी कहिल्यै सुख–सुविधाको पछाडि लागेनन् । उनको लोकसेवा यात्रा २०७२ सालबाट सुरु भयो, जतिबेला उनले पहिलो पटक नायब सुब्बाको परीक्षा दिए । पहिलो प्रयासमै नाम निस्कियो र उनको जागिरे जीवनको आरम्भ खोटाङको सिमपानीबाट भयो ।
त्यसपछि उनी मोरङको बेलबारी नगरपालिकामा सरुवा भएर आए । धेरै मानिस नासु भएपछि त्यहीँ सुरक्षित महसुस गर्छन्, तर उनको लक्ष्य अझ माथि थियो । नासु भएको दुई वर्षमै अर्थात् २०७४ सालमा उनले शाखा अधिकृतको परीक्षा दिए र नतिजा फेरि पनि उही आयो— पहिलो प्रयासमै सफलता अचम्मको कुरा त के छ भने, उनले अनुभवका लागि दिएका परीक्षामा पनि कहिल्यै असफलता व्यहोर्नु परेन । उनको सफलताको रथ यतिमा मात्र रोकिएन । शाखा अधिकृत भएको केही वर्षमै उनले उपसचिवका लागि प्रयास गरे र त्यहाँ पनि ‘एकै सट’मा नाम निकाल्न सफल भए ।
यसरी नासु, अधिकृत र उपसचिव—तीनै तहमा कहिल्यै फेल नभई पुग्ने बिरलै मान्छेहरूमध्ये उनी एक बने । उनले आफ्नो सेवा अवधिको बढी समय ‘लेखा’ समूहमा रहेर काम गरे । सरकारी प्रशासनमा लेखाको जागिरलाई अलि ‘छुच्चो’ र जटिल मानिन्छ, किनकि कानुन र कागजपत्रको कसीमा बसेर काम गर्नुपर्ने हुन्छ । खोटाङको सिमपानीमा गाविस सचिव हुँदा होस् वा केराबारीमा लेखा अधिकृत हुँदा, उनले स्थानीय तहको प्रशासनलाई जगैदेखि बुझ्ने मौका पाए । जनतासँग प्रत्यक्ष जोडिने क्रममा उनले धेरै चुनौतीहरू झेले, तर आफ्नो कार्यक्षमतामा कहिल्यै आँच आउन दिएनन् ।
जब कसैले उनलाई सफलताको रहस्य सोध्छ, उनी कुनै ठूला दार्शनिक कुरा गर्दैनन् । उनी केवल यति भन्छन्, ‘एउटा निश्चित सेड्युलमा बसेर योजनाबद्ध ढङ्गले पढ्ने हो भने असम्भव केही छैन ।’ उनी सामाजिक सञ्जालमा सफलताको मन्त्र बाँड्ने वा हल्लाखल्ला गर्ने स्वभावका छैनन् । उनी त एक साइलेन्ट’ सूत्रधार हुन्, जसले आफ्नो मिहिनेतलाई केवल नतिजाबाट मात्रै बोल्न दिए । कतिपयले लोकसेवाका लागि भनेर सामाजिक जीवन र पारिवारिक जिम्मेवारी त्याग्छन्, तर उनले जागिर र परिवारलाई सँगै लैजाँदै यो उचाइ हासिल गरे ।
उनको जीवनको यो सुन्दर लयको पछाडि धनकुटाको त्यो सरकारी स्कुलको जग, दिदीहरूको प्रेरणा र कहिल्यै नथाक्ने उनको अनुशासन लुकेको छ । जो मान्छे स्वयं आफूलाई सामान्य ठान्छ, वास्तवमा उसको काम र सफलताले उसलाई धेरै माथि पुर्याइसकेको हुन्छ । लोकसेवाका लाखौं परीक्षार्थीहरूका लागि न्यौपानेको कथा एउटा जीवित सन्देश हो— यदि अनुशासन छ र जग बलियो छ भने, सफलताले तपाईंलाई जस्तोसुकै भिडबाट पनि खोजेर बाहिर ल्याउँछ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।