लोड हुँदैछ...

मेनु

धरानमा निजी विद्यालय सञ्चालकले खोले युनिफर्म हाउस

धरानमा निजी विद्यालय सञ्चालकले खोले युनिफर्म हाउस

धरान । सुनसरीको धरानमा निजी विद्यालय सञ्चालकहरूको संयुक्त लगानीमा ‘कुलिन युनिफर्म हाउस’ सञ्चालनमा ल्याएका छन् ।

निजी शैक्षिक संस्थाहरु व्यापारमा मात्र केन्द्रित भएको आरोप लागिरहेको बेला धरान–१२ छाताचोकस्थित विश्राभा कम्प्लेक्सको भुईँतलामा करिब एक करोड रुपैयाँको लगानीमा १७ जना विद्यालय सञ्चालकले विद्यार्थीको पोसाक र शैक्षिक सामग्री बेच्न पसल खोलेकाक हुन् ।

विद्यार्थी लक्षित युनिफर्म, झोला, जुत्ता र स्टेशनरी सामग्री एकै ठाउँबाट बिक्री गर्ने व्यवस्था गरेको सञ्चालकले बताएका छन् । नयाँ शैक्षिक सत्र सुरु हुने समयमा सञ्चालनमा ल्याइएको यस हाउसमा संलग्न अधिकांश लगानीकर्ता निजी विद्यालयका सञ्चालक छन्।

‘बोधित्व गार्मिन्ट’ र ‘कुलीन परिवार’सँगको सहकार्यमा सञ्चालनमा आएको कम्पनीले बजारमा छरिएका सामग्रीलाई एकीकृत गर्दै गुणस्तर सुनिश्चित गर्ने दाबी गरेको छ। तर, हाउस सञ्चालनसँगै अभिभावक र स्थानीय व्यवसायीहरूमा सिण्डिकेटको आशंका बढेको छ । विद्यालयले आफ्नै हाउसबाट ड्रेस किन्न दबाब दिने गरेको अभिभावकले जनाएका छन् ।

बजारमा सस्तो पाइने सामग्री समेत विद्यालयले तोकेको स्थानबाट महँगोमा खरिद गर्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ। हाउसबाट ४०० रुपैयाँ पर्ने कपडा ६०० रुपैयाँसम्म र १०० रुपैयाँको बेल्ट १५० रुपैयाँसम्ममा बेचिने गरेको छ ।

विद्यालय सञ्चालक आफैं व्यापारमा संलग्न हुँदा बजार प्रतिस्पर्धा घट्ने र एकाधिकार बढ्ने जोखिम देखिएको छ । विद्यालय प्रशासन र व्यापारीबीच कमिसनको खेल हुने आरोप लाग्दै आएकोमा अहिले सञ्चालक आफै ब्यापारी बनेका छन् ।

हाउसका सञ्चालकहरू भने विद्यार्थी र अभिभावकलाई सहजता दिन एकीकृत सेवा सुरु गरिएको बताउँछन्। उनीहरूका अनुसार गुणस्तरीय सामग्री एउटै स्थानमा उपलब्ध गराउने, आपूर्ति प्रणाली व्यवस्थित गर्ने र नेपाली उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले यो पहल गरिएको हो।

युनिफर्म हाउसका सचिव राजेन्द्र गुरुङले गुणस्तरीय सामग्री एकै स्थानमा उपलब्ध गराउने लक्ष्यसहित व्यवसाय सञ्चालन गरिएको बताए । उनका अनुसार यहाँ नेपालमै उत्पादन भएका कपडाबाट तयार पारिएका युनिफर्म, झोला तथा विद्यार्थीका अन्य आवश्यक सामग्री हाउसमा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।