लोड हुँदैछ...

मेनु

कार्यकक्षमै प्रधानाध्यापकमाथि हातपात गर्ने दुई शिक्षक पक्राउ

कार्यकक्षमै प्रधानाध्यापकमाथि हातपात गर्ने दुई शिक्षक पक्राउ

विराटनगर । सङ्खुवासभाको मादी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय च्याङरीङमा प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहालमाथि कार्यकक्षमै हातपात गर्ने दुई जना पक्राउ परेका छन् ।

घटनामा संलग्न रहेको आरोपमा सोही विद्यालयका शिक्षक ५५ वर्षीय सोमनाथ दाहाल र ५४ वर्षीया लेखकुमारी भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुवैलाई नियन्त्रणमा लिएर चैनपुर स्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको छ। वैशाख ९ गते विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिने क्रममा शिक्षक प्रतिनिधि छनोटको विषयमा प्रधानाध्यापक र अन्य शिक्षकबीच विवाद उत्पन्न भएको थियो। सोही विवाद चर्किँदै जाँदा कार्यकक्षमै हातपातको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ।

घटनाका क्रममा निर्णयसम्बन्धी कागजातसमेत च्यातिएको बताइएको छ। घटनाप्रति नेपाल राष्ट्रिय शिक्षक संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संगठनका जिल्ला अध्यक्ष कृष्णबहादुर चापागाई र सचिव टेकबहादुर रायले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

विज्ञप्तिमा विद्यालयजस्तो शैक्षिक संस्थाभित्र भएको यस्तो गतिविधिलाई अकल्पनीय, अमानवीय र गैरजिम्मेवारपूर्ण भन्दै तत्काल रोक्नुपर्ने उल्लेख गरिएको छ। साथै, सम्बन्धित पक्षलाई वार्ता र सहमतिमार्फत समस्या समाधान गर्न पनि आग्रह गरिएको छ।

संगठनकाक मादी नगर समिति अध्यक्ष मातृकाप्रसाद दाहालले पनि घटनाको भर्त्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्। प्रहरीले पक्राउ परेका दुवै शिक्षकविरुद्ध ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।