लोड हुँदैछ...

मेनु

कच्चा जुटको साटो बंगलादेशबाट आउन थाल्यो जुटको धागो र कपडा

कच्चा जुटको साटो बंगलादेशबाट आउन थाल्यो जुटको धागो र कपडा

विराटनगर । नेपालका जुट उद्योगहरूले कच्चा पदार्थको अभाव झेल्न थालेपछि अर्ध–तयारी वस्तु (जुटको धागो) को आयात बढाउन थालेका छन् । स्वदेशमा उत्पादन हुने कच्चा जुटले माग धान्न नसक्ने र भारतबाट हुने आयातमा पनि सुधार नभएपछि उद्योगीहरूले बंगलादेशबाट जुटका अर्ध–तयारी धागो ल्याएर बोरा बुन्न थालेका हुन् ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷०८३ को चैत मसान्तसम्मको तथ्यांक अनुसार, साउन महिनाको तुलनामा जुटको धागो (यार्न) आयात परिमाण दोब्बरले बढेको देखिएको छ भने अघिल्लो वर्षको तुलनामा यो वृद्धि झण्डै तीन गुणाले बढी हो । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्म ५२१ मेट्रिक टन जुटको धागो आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ हजार ४०६ मेट्रिक टन आयात भएको छ । यस हिसाबले यो वर्ष धागो आयातमा उल्लेख्य वृद्धि भएको देखिएको हो ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालमा कुल ६० हजार ६०० केजी जुटको धागो (सिङ्गल र मल्टिपल यार्न) आयात भएको थियो । तर, चैत मसान्तसम्म आइपुग्दा यो परिमाण ५ लाख २१ हजार २७६ केजी पुगेको छ । साउन महिनामा भएको आयातलाई पछिल्ला ८ महिनाको आयातसँग तुलना गर्दा उद्योगहरूले कच्चा जुटको सट्टा अर्ध–तयारी धागो मगाउने क्रम झण्डै दुई गुणा भन्दा बढीले बढेको देखिएको हो । गत साउनमा बंगलादेशबाट कच्चा जुट आयातको तुलनामा अर्ध तयारी जुटको धागोको हिस्सा २.१ प्रतिशत रहेकोमा चैत महिनासम्म आइपुग्दा जुटको धागोको हिस्सा ४.१ प्रतिशत पुगेको छ भने कच्चा जुटको हिस्सा ९७.९ प्रतिशतबाट घटेर ९५.१ प्रतिशतमा आइपुगेको छ । यसले नेपाली जुट मिलहरू ‘स्पिनिङ’ मिलबाट विस्तारै लुम डिपार्टमा परिणत हुन थालेको संकेत गरेको छ ।

कच्चा जुटसँगै यो वर्ष जुटको तयारी कपडा र बोराको आयातमा समेत वृद्धि देखिएको छ । भन्सार तथ्यांक अनुसार चैत मसान्तसम्म ६ लाख ८२ हजार ९८२ वर्गमिटर जुटको कपडा भारतबाट आयात भएको छ । कच्चा जुट नपाउँदा स्वदेशी उद्योगले माग अनुसार उत्पादन गर्न नसकेपछि बजारको आवश्यकता टार्न तयारी कपडा र बोराको आयात समेत बढाएका हुन् ।

भन्सार विभागको तथ्यांक अनुसार चैत मसान्तसम्ममा नेपालले ३ करोड ८४ लाख १४ हजार ७७५ केजी कच्चा जुट आयात गरेको छ । यसका लागि नेपालबाट ३ अर्ब ८१ करोड ६५ लाख रुपैयाँ बाहिरिएको छ । जसमा भारतबाट २ अर्ब ४ करोड र बंगलादेशबाट १ अर्ब ७७ करोड बराबरको कच्चा जुट आएको छ । सोही अवधिमा अर्ध–तयारी वस्तुका रूपमा रहेको जुटको धागो ७ करोड ३२ लाख रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो वर्षको चैत मसान्तसम्मको तथ्यांकको तुलनामा जुटको धागोको आयात १.६ प्रतिशतबाट बढेर ४.९ प्रतिशत पुगेको छ ।

नेपाल जुट उद्योग व्यवसायी संघका केन्द्रीय अध्यक्ष राजकुमार गोल्छाले जुट आयात घटेपछि उद्योग सञ्चालन गर्न र त्यहाँ कार्यरत जनशक्तिलाई रोजगारविहीन बन्न नदिन पनि धागो आयात बढाउनु परेको बताए । उनले कच्चा जुटको अभावमा उद्योगहरू पूर्ण क्षमतामा चल्न नसकेपछि उत्पादनलाई निरन्तरता दिन धागो आयात गरेर भए पनि उद्योग जोगाउनुपर्ने बाध्यता बनेको जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्मको अवस्थालाई हेर्दा कच्चा जुटको आयात परिमाणमा गिरावट आएको छ भने धागो आयात ह्वात्तै बढेको छ । गत वर्ष कच्चा जुटको आयातमा भारतको हिस्सा ६० प्रतिशतभन्दा माथि रहने गरेकोमा यो वर्ष करिब ५२ प्रतिशतमा झरेको छ । तथ्यांक अनुसार नेपालमा आयात हुने जुटको धागोमध्ये ९५ प्रतिशत बंगलादेशबाट आयात भइरहेको छ । अर्ध–तयारी वस्तु आयात गर्न थालेपछि यहाँका उद्योगहरूमा रोजगारी कटौतीको समस्या देखिएको छ भने उद्योगको परिचय विस्तारै बदलिएर स्पिनिङबाट टेक्स्टायल उद्योगमा परिणत हुने खतरा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।