लोड हुँदैछ...

मेनु

सुकुम्बासी बस्ती हटाएपछि रंगशालामा भीड : ३११ परिवार सम्पर्कमा

सुकुम्बासी बस्ती हटाएपछि रंगशालामा भीड : ३११ परिवार सम्पर्कमा

काठमाडौं । काठमाडौंका थापाथली, सिनामंगल, गैरीगाउँ र मनोहरा क्षेत्रका सुकुम्बासी बस्ती हटाउने क्रममा सुरक्षा बल परिचालन भएपछि विस्थापित परिवारहरू डर र अन्यौलबीच विभिन्न स्थानतर्फ सरेका छन्। पछिल्लो समय भने ती सुकुम्बासीहरू धमाधम सम्पर्कमा आउन थालेका छन्।

सरकारले आवास र खानपिनको व्यवस्था गर्न नसक्ने परिवारको विवरण संकलन गर्न दशरथ रंगशाला मा हेल्प डेस्क स्थापना गरेको छ। आइतबार दिउँसो २ बजेसम्म कुल ३११ सुकुम्बासी परिवारले त्यहाँ पुगेर आफ्नो विवरण दर्ता गराएका छन्।

विवरण संकलन कार्य उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत विकास समिति ले छुट्टाछुट्टै डेस्कमार्फत गरिरहेका छन्। जसमध्ये प्राधिकरणले १४६ परिवार र समितिले १६५ परिवारको विवरण टिपेको जनाएको छ।

रंगशालामा सुकुम्बासीहरूको स्वास्थ्य परीक्षण, खानपिन तथा आधारभूत सेवाको व्यवस्था समेत गरिएको छ, जसको समन्वय काठमाडौं महानगरपालिका ले गरिरहेको छ।

विवरण दर्ता भइसकेपछि ती परिवारलाई पाँच वटा ‘होल्डिङ सेन्टर’ मा राख्ने तयारी गरिएको छ। बागमती सभ्यता विकास परियोजनाका सामाजिक परिचालकका अनुसार भूमिहीन तथा आवासहीनको व्यवस्थापनका लागि चरणबद्ध रूपमा उनीहरूलाई सुरक्षित स्थानमा सारिनेछ।

अहिले रंगशालामा भीड तीव्र रूपमा बढिरहेको छ। विशेषगरी थापाथलीबाट विस्थापित परिवारहरू धेरैजसो त्यहाँ पुगिसकेका छन् भने सिनामंगल, गैरीगाउँ र शान्तिनगरबाट आउने क्रम पनि बढ्दो छ। आइतबार बिहानदेखि मात्रै यी क्षेत्रबाट आउनेको संख्या उल्लेख्य रूपमा बढेको अधिकारीहरू बताउँछन्।

यसअघि शनिबार फारम भरेका ३१ परिवारलाई कीर्तिपुर स्थित सत्संग भवनमा बनाइएको होल्डिङ सेन्टरमा राखिएको थियो। तर, त्यहाँ क्षमता भरिएपछि अन्य परिवारलाई वैकल्पिक स्थानमा व्यवस्थापन गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।