लोड हुँदैछ...

मेनु

बाढीले वीपी राजमार्ग अवरुद्ध गरेपछि अलपत्र भएका ६२७ यात्रुको उद्धार

बाढीले वीपी राजमार्ग अवरुद्ध गरेपछि अलपत्र भएका ६२७ यात्रुको उद्धार

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लामा परेको अविरल वर्षासँगै आएको बाढीका कारण वीपी राजमार्ग अन्तर्गत रोशी खोलाका विभिन्न स्थानमा बनाइएका अस्थायी डाइभर्सन बग्दा सयौँ यात्रु अलपत्र परेका छन्।

विशेषगरी रोशी गाउँपालिका–९ स्थित मंगलटार क्षेत्रमा शनिबार साँझदेखि सवारी साधन रोकिँदा ६ सय २७ यात्रु समस्यामा परेका थिए।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन बिष्टका अनुसार आइतबार बिहानदेखि उद्धार कार्य सुरु गरिएको थियो। अलपत्र यात्रुलाई मंगलटारबाट झोलुङ्गे पुल तरेर तेमाल गाउँपालिका हुँदै भकुण्डेसम्म सुरक्षित रूपमा सारिएको छ ।

उद्धार कार्यमा नेपाल प्रहरीको टोली, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारण सक्रिय रूपमा खटिएका थिए। प्रहरीका अनुसार करिब ८० वटा सवारी साधनमा रहेका यात्रु उद्धार गरिएपनि ती सवारीका चालक र सहचालक गरी करिब १२०–१२५ जना भने आफ्ना गाडी कुरेर स्थलमै बसेका छन्।

डाइभर्सन बग्दा सडक पूर्ण रूपमा अवरुद्ध भएकाले काठमाडौँ र सिन्धुलीतर्फ जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन्। उद्धार गरिएका यात्रुलाई भकुण्डे क्षेत्रमा स्थानीय होटल तथा पसल व्यवसायीको सहयोगमा पानी, फलफूल, चाउचाउ, जुसलगायतका खाद्य सामग्री उपलब्ध गराइएको थियो।

महिला, बालबालिका तथा अत्यावश्यक यात्रुहरूलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानतर्फ पठाइएको प्रशासनले जनाएको छ। विदेश जाने टिकट भएका यात्रुहरूलाई समेत प्राथमिकता दिइएको थियो।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार बाढीले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेंशी, बुलढुंगा र माम्ती लगायतका आठ स्थानका डाइभर्सन बगाएको छ। वर्षा कम भएसँगै ती सबै स्थानमा डाइभर्सन पुनर्निर्माणको काम सुरु गरिएको छ। मौसम अनुकूल रहेमा सडक आज दिउँसोदेखि आंशिक रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाइएको छ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार १६ वटा सवारी प्रयोग गरेर यात्रुहरूको उद्धार गरिएको हो। साथै, अलपत्र परेका यात्रुलाई अत्यावश्यक सेवा उपलब्ध गराउन स्थानीय तहसँग समन्वय गरिएको छ।

जिल्ला ट्राफिक प्रहरीसमेत भकुण्डे क्षेत्रमा खटिएर सवारी व्यवस्थापन तथा उद्धार कार्यमा सहयोग गरिरहेको छ। प्रशासनले पूर्वी क्षेत्रबाट काठमाडौँ आउन चाहने सवारी साधनलाई हालका लागि वीपी राजमार्ग प्रयोग नगरी वैकल्पिक मार्ग अपनाउन आग्रह गरेको छ।

अहिले प्रिमनसुनको समय भएकाले थप वर्षा र बाढीको जोखिम कायम रहेको छ। त्यसैले यात्रु तथा चालकलाई सतर्क रहन, मौसमको जानकारी लिएर मात्र यात्रा गर्न र जोखिमपूर्ण क्षेत्रमा अनावश्यक आवागमन नगर्न प्रशासनले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।