लोड हुँदैछ...

मेनु

कोशी प्रदेश कृषिमा सङ्कट

माटोमा अम्लियपन बढ्दो, प्राङ्गारिक मलमा ठगी !

माटोमा अम्लियपन बढ्दो, प्राङ्गारिक मलमा ठगी !

विराटनगर । कोशी प्रदेशको तराईको कृषि क्षेत्र प्रविधि र आधुनिकीकरणसँगसँगै गम्भीर प्राकृतिक र नीतिगत सङ्कटमा फसेको तथ्याङ्कले देखाएको छ । सुनसरीको झुम्कास्थित चारवटा प्रमुख सरकारी निकायहरू बीउ बिजन प्रयोगशाला, माटो तथा मल परीक्षण प्रयोगशाला, बाली संरक्षण प्रयोगशाला र कृषि तालिम केन्द्रको चालू आर्थिक वर्षको ९ महिने विवरणले प्रदेशको कृषि क्षेत्रमा समस्या सिर्जना हुँदै गएको देखाएको छ ।

तथ्याङ्क अनुसार प्रदेशको माटोको स्वास्थ्य अत्यन्तै नाजुक छ । बजारमा पाइने नक्कली अर्गानिक मलका नाममा किसानमाथि ठगी भइरहेको पाइएको छ । यस्तै गुणस्तरहीन बीउ पनि बजारमा विक्री भइरहेको फेला परेको छ ।

माटो तथा मल परीक्षण प्रयोगशाला झुम्काले गरेको २ हजार २७४ वटा माटोको नमुना विश्लेषणको नतिजाले कोशी प्रदेशको माटोमा गम्भीर समस्या देखाएको हो । परीक्षण गरिएका नमुनामध्ये ५१ प्रतिशत माटो अत्यधिक अम्लीय पाइएको छ । यो तथ्याङ्कले प्रदेशको आधाभन्दा बढी उब्जाउ भूमिले आफ्नो प्राकृतिक उर्वराशक्ति गुमाउँदै गएको संकेत गर्छ ।

प्रयोगशालाका प्राविधिकहरूका अनुसार रासायनिक मलको असन्तुलित प्रयोग, प्राङ्गारिक पदार्थको अभाव र एउटै किसिमको बाली लगाइरहने पद्धतिले माटोमा अम्लियपन बढाएको हो । माटो अम्लीय हुँदा उत्पादन सोचेजस्तो हुँदैन । यसलाई सुधार गर्न कृषि चूनको प्रयोग अनिवार्य देखिएको प्राविधिकहरु बताउँछन् ।

यस्तै माटो तथा मल परीक्षण प्रयोगशालाका अनुसार १३ वटा रासायनिक मलका नमुना परीक्षण गर्दा शतप्रतिशत नै मापदण्डअनुसार सही पाइएका थिए । तर, जब ५८ वटा प्राङ्गारिक मलका नमुना परीक्षण गरियो, त्यसमध्ये ९५ प्रतिशत (५५ वटा) नमुना मापदण्डविपरीत पाइएका छन् ।

सरकारले अर्गानिक कृषिलाई प्रोत्साहन गर्ने नीति लिइरहँदा बजारमा भने अर्गानिकको नाममा किसानलाई माटो वा गुणस्तरहीन मल बेचिरहेको यो तथ्याङ्कले देखाएको छ । किसानले मोटो रकम खर्चेर किनेको मलमा आवश्यक पर्ने नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा न्यून पाइएको छ ।

बीउ बिजन प्रयोगशाला, झुम्काको तथ्याङ्कले बीउको गुणस्तरमा पनि प्रश्न खडा गरेको छ । चालु आर्थिक वर्षमा परीक्षण गरिएका ७५० नमुनामध्ये झण्डै १२ प्रतिशत (११.९९ प्रतिशत) बीउ गुणस्तरको न्यूनतम मापदण्डमा समेत असफल भएका छन् ।

विशेष गरी धान, मकै र तोरीको बीउमा समस्या देखिएको उक्त प्रयोगशालाले जनाएको छ । प्रयोगशालाले बजारमा रहेका एग्रोभेटहरूबाट नमुना संकलन गरी ‘सिड अडिट’ गरिरहेको भए पनि गुणस्तरहीन बीउ बेच्नेहरूमाथि कडा कारबाही हुन नसक्दा किसानहरू बर्सेनि ठगिने क्रम रोकिएको छैन ।

बाली संरक्षण प्रयोगशालाले प्रदेशका सुनसरी, मोरङ, उदयपुर र इलामका २६ वटा विषादी पसल र गोदामहरूमा अनुगमन गरेको थियो । सो क्रममा कैयौँ पसलहरूमा म्याद नाघेका विषादीहरू फेला परेको बरिष्ठ बाली संरक्षण अधिकृत सरस्वती श्रेष्ठले जानकारी दिइन् । म्याद नाघेका विषादीले एकातिर बालीको शत्रुजीव मर्दैनन् भने अर्कोतर्फ ती विषादीले माटो र मानव स्वास्थ्यमा झन् बढी घातक असर पु¥याउने उनको भनाइ थियो ।

यद्यपि प्रयोगशालाले रासायनिक विषादीलाई न्यूनीकरण गर्न प्रयोगशालाले झुम्कामै ‘ट्राइकोडर्मा’ (जैविक विषादी) उत्पादन गरिरहेको छ । ९ महिनामा १ हजार ५०० केजी जैविक विषादी उत्पादन गरी किसानलाई वितरण गरिएको श्रेष्ठको दाबी छ । जसले रोग लाग्नबाट बिरुवालाई बचाउन मद्दत गर्छ ।

प्रयोगशालामा सवारी साधनको अभाव, बीउ परीक्षण गर्ने मेसिनहरू बिग्रिँदा मर्मत गर्ने दक्ष जनशक्तिको अभाव, दरबन्दी अनुसारको जनशक्ति अभाव पनि उत्तिकै समस्या रहेको छ । माटो प्रयोगशालामा ७५ प्रतिशत र बीउ प्रयोगशालामा ६३ प्रतिशत मात्र दरबन्दी पूर्ति छ । बाँकी कर्मचारी नहुँदा प्रयोगशालाको सेवा विस्तार हुन सकेको छैन ।

झुम्कास्थित यी प्रयोगशालाहरूले अब परम्परागत ढाँचालाई बदलेर डिजिटल बाटो समात्न थालेका छन् । अहिले माटो र बीउको परीक्षण रिपोर्ट सफ्टवेयरमार्फत तयार पारिन्छ र किसानलाई ह्वाट्सएप वा इमेलमार्फत पठाउन थालिएको छ । यसले गर्दा किसानहरू सानो एउटा रिपोर्ट लिन झुम्का धाउनुपर्ने बाध्यता हटेको छ । किसानलाई आफ्नो माटोको अवस्था कस्तो छ भनेर बुझाउन सोइल हेल्थ कार्ड वितरण सुरु गरिएको छ । यसले कुन जग्गामा कति मल हाल्ने भनेर किसानलाई स्पष्ट मार्गदर्शन गर्छ । प्रयोगशाला नै किसानको खेतबारीमा पुगेर माटो र बालीको उपचार गर्ने पद्धतिले गाउँका किसानलाई सहज बनाएको छ ।

चार हजार बढी लाभान्वित

कृषि तालिम केन्द्रका निमित्त प्रमुख नरेश कुमार पण्डितका अनुसार सो कार्यायले २७१ जनालाई तालिम दिएको छ । यस्तै माटो तथा मल प्रयोगशालाबाट २ हजार ५०६ जना लाभान्वित भएका छन् भने बाली संरक्षण प्रयोगशालाबाट १ हजार २६५ जना लाभान्वित भएका छन् । सबैगरी ४ हजार ४२ जना लाभान्वित भएको ती कार्यालयहरुले जनाएका छन् ।

चारवटै कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा ५ सय ८७ जना कृषक तथा प्राविधिकहरूलाई विभिन्न १८ भन्दा बढी विषयमा व्यावसायिक तालिम प्रदान गरेका छन् ।

पण्डितका अनुसार कृषि तालिम केन्द्रले झुम्काले ६७ जना अगुवा कृषकलाई व्यावसायिक तरकारी तथा फलफूल खेती र ६० जनालाई बीउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ । त्यसैगरी ४६ जना युवा कृषकलाई मौरी पालन, ४४ जनालाई मिनिटिलर मर्मत र २१ जनालाई च्याउ उत्पादन तथा प्रशोधन सम्बन्धी सीपमूलक तालिम प्रदान गरिएको छ ।

बाली संरक्षणतर्फ बाली संरक्षण प्रयोगशालाले २१० जना कृषकलाई विषादी सम्बन्धी सचेतनामूलक जानकारी र १०६ जना कृषकलाई खेतबारीमै पुगेर बालीको रोग–कीरा पहिचान तथा व्यवस्थापन गर्ने स्थलगत तालिम दिएको छ ।

प्राविधिक क्षमता अभिवृद्धितर्फ कृषि प्राविधिकहरूका लागि सञ्चालित सफ्टवेयर तालिममा २४ जना र माटो जाँच किटबक्स सञ्चालन तालिममा ९ जना सहभागी भएका छन् । साथै, माटो परीक्षण प्रयोगशालाले जीपीएस प्रविधिको प्रयोग र डिजिटल म्यापिङ सम्बन्धी जानकारी समेत प्रदान गरेको छ ।

अर्थसमितिको अनुगमन

यसैबीच कोशी प्रदेशसभा अर्थसमितिले शुक्रबार झुम्काको चारवटै कार्यालयको अनुगमन गरेको छ । अनुगमनका क्रममा प्रदेश सरकारले गर्नुपर्ने कामको बारेमा ब्रिफिङ लिइएको सो समितिका सभापति विनोद वान्तवाले बताए । अर्थ समितिलाई आ–आफ्नो कार्यालयको अवस्था जानकारी गराउँदै कार्यालय प्रमुखहरुले कृषि क्षेत्रको विकासका लागि जनशक्ति पर्याप्त हुनुपर्ने र लगानी बढाउनु पर्नेमा जोड दिए । जवाफमा अर्थ समितिका सभापति वान्तवाले आफूहरुले सरकारलाई सुझाव लेखेर पठाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।