लोड हुँदैछ...

मेनु

ब्राउन सुगरसहित एक दर्जनभन्दा बढी पक्राउ

ब्राउन सुगरसहित एक दर्जनभन्दा बढी पक्राउ

धरान । नेपाल प्रहरीले झापा, मोरङ, सुनसरी र इलामका विभिन्न स्थानबाट ब्राउन सुगरसहित एक दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापाको भद्रपुर–१० का राजु कुमार राजवंशी, अर्जुनधारा–८ का सलुन रसाईली र बिर्तामोड–३ का पारस प्रसाईलाई ९ ग्राम २३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो। उनीहरूलाई भद्रपुर–५ स्थित प्रहरी चौकीको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

त्यसैगरी बिर्तामोड–४ का रोहित शर्मा र दीपक श्रेष्ठलाई ६ ग्राम १७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ भने मेचीनगर–१० का गुलाम रसुल मियाँलाई ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ। भद्रपुर–५ का कन्चन राजवंशी पनि ५३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्।

हाल्दिबारी–३ का प्रतीक तामाङ र प्रीतम तामाङलाई २५० मिलिग्राम ब्राउन सुगरसहित प्रहरी चौकी जलथलले पक्राउ गरेको छ भने शिवसताक्षी–१ का सुदिप बिशुङ्खेलाई २१४ पिस प्रतिबन्धित औषधीसहित प्रहरी चौकी धरमपुरले नियन्त्रणमा लिएको छ।

यस्तै, विराटनगर–१५ स्थित इलाका प्रहरी कार्यालय रानीको टोलीले बेलबारी–४ का मनकुमार राईलाई ५ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

सुनसरीको इनरुवा–४ अस्थायी प्रहरी चौकी बसपार्कले इनरुवा–७ का श्रवण कुमार उरावलाई ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने इलामको सूर्योदय नगरपालिका–११ बाट विवेक राई र उदित राईलाई ११० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।