विराटनगर । ओखलढुंगाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) विश्वराज पोखरेलले एक विद्यालयका प्रधानाध्यापक माथि गरेको दुव्र्यवारको घटनाप्रति सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।
खिजीदेम्बा गाउँपालिका वडा नं. २ स्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयमा गत वैशाख ९ गते भएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सांसद पोखरेलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै स्पष्टीकरणसहित माफी मागेका हुन्।
संघीय संसद्को बैठक स्थगित भएको समयमा जिल्लाबासीसँग प्रत्यक्ष भेटघाट र स्थानीय समस्या बुझ्ने क्रममा आफू विद्यालय पुगेको उनले बताएका छन्। सामाजिक सञ्जालमा आएको भिडियोका बारेमा टिप्पणी गर्दै उनले भनेका छन्, ‘यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काटछाँट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्रेक्ष्य विकृत हुन पुगेको छ।’
प्रेस विज्ञप्तिमा सांसद पोखरेलले सार्वजनिक पदमा बसेको व्यक्तिले देखाउनुपर्ने संयमका बारेमा आत्मबोध गरेका छन्। उनले लेखेका छन्, ‘सार्वजनिक जीवनमा रहँदा मेरो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपथ्र्यो भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्छु। कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भएको भए पनि मैले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपर्थ्यो।’ आफ्नो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए हृदयदेखि क्षमायाचना गर्ने उनले बताएका छन्।
आफूलाई जनताको सेवकका रूपमा चित्रण गर्दै सांसद पोखरेलले यस घटनाबाट पार्टी, शुभेच्छुक, विद्यालय परिवार र स्थानीय समुदायलाई परेको ठेसप्रति विनम्रतापूर्वक क्षमा मागेका छन्। उनले आगामी दिनमा अझ बढी संयमित, जिम्मेवार, संवादमुखी र मर्यादित भएर जनताको सेवामा समर्पित रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।