इटहरी । इटहरी उपमहानगरपालिका–९ वडा कार्यालयसँगै निर्माणाधीन कोल्ड स्टोर परियोजना बजेट अभावका कारण अलपत्र परेको छ।
कृषि उपज भण्डारणका लागि निर्माण सुरु गरिएको उक्त कोल्ड स्टोर २३ करोड ४१ लाख रुपैयाँमा सम्झौता भई सुरु गरिएको थियो। आयोजनाका लागि संघीय सरकार र प्रदेश सरकारले १२ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने योजना रहेकोमा कोशी प्रदेश सरकारले हालसम्म १ करोड रुपैयाँ मात्र भुक्तानी गरेको छ।
संघीय सरकारबाट बाँकी रकम नआएपछि आयोजनाको गति सुस्त भएको हो। उपमहानगरपालिकासँग समेत पर्याप्त बजेट नहुँदा निर्माण कम्पनीलाई भुक्तानी रोकिएको छ। उपमहानगरपालिकामा पेश गरिएको करिब अढाई करोड रुपैयाँको रनिङ बिलसमेत अझै भुक्तानी हुन सकेको छैन।
निर्माण कम्पनी तुलसी भक्त कन्स्ट्रक्सनका सञ्चालक नवराज श्रेष्ठका अनुसार हटिया क्षेत्रको साइड क्लियरेन्स नहुनु र भुक्तानी नपाउनु निर्माण ढिलाइको मुख्य कारण हो। उनले कोल्ड स्टोरमा मेसिन जडान बाँकी रहेको र आवश्यक सहजीकरण भए ६ महिनाभित्र काम सम्पन्न गर्न सकिने बताए।
उनका अनुसार उपमहानगरपालिकाले दुई वर्षदेखि भुक्तानी र साइड क्लियरेन्सको समस्या समाधान नगर्दा काम प्रभावित भएको हो। हटिया बजार व्यवस्थापन हुन नसक्दा डिजाइन परिवर्तन गरेर कोल्ड स्टोर निर्माण गरिएको समेत उनले उल्लेख गरे।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।