इटहरी । सुनसरीको देवानगंज गाउँपालिका–१ मध्यहर्षाही क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालले भन्सार छली गरी ल्याइँदै गरेका विभिन्न सामानसहित दुई वटा मोटरसाइकल बरामद गरेको छ।
शुक्रबार बिहान कप्तानगंजस्थित सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी नायव निरीक्षक रमेश कुमार बोहोराको कमाण्डमा खटिएको १० जनाको मोबाइल गस्ती टोलीले भारततर्फबाट नेपालतर्फ ल्याइँदै गरेको सामान नियन्त्रणमा लिएको हो। प्रहरी टोलीलाई देखेपछि मोटरसाइकलमा रहेका व्यक्तिहरू सामान छाडेर फरार भएका छन्।
बरामद सामानमा करिब ७ लाख ३० हजार रुपैयाँ बराबरका डबल बेडका तन्ना सेटसहित १२० सेट कपडा, वाइफाइ राउटर तथा चार्जर १०० थान, नक्कली गहना ३०० पिस र चार बोरा सुर्ती रहेका छन्। साथै, को १३ प ७१३४ र BR ३९ Y ०३२२ नम्बरका दुई मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ, जसको अनुमानित मूल्य करिब २ लाख रुपैयाँ रहेको छ।
सशस्त्र प्रहरीका अनुसार बरामद मोटरसाइकल र सामानको कुल मूल्य करिब ९ लाख ३० हजार रुपैयाँ बराबर रहेको छ। बरामद सामग्री सीमा सुरक्षा गुल्म कप्तानगंजमा राखिएको छ भने फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाइएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।