लोड हुँदैछ...

मेनु

यो साता तातो हावाको जोखिम, अर्को साता वर्षाको संभावना

यो साता तातो हावाको जोखिम, अर्को साता वर्षाको संभावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर बढ्दो गर्मीबाट तत्काल राहत नपाइने भएको छ।

विभागले आगामी सातादेखि मात्रै वर्षाको गतिविधि सुरु हुने जनाउँदै त्यसअघिसम्म तातो हावाको लहर (हिट वेभ) को जोखिम रहने चेतावनी दिएको छ।

विभागले शुक्रबार साँझ जारी गरेको विशेष बुलेटिनमा मधेशसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यकामा तापक्रम उच्च रहेको उल्लेख गरिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मध्यम स्तरको तातो लहर देखिएको जनाइएको छ।

आगामी तीन दिनसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्ने अनुमान गरिएको छ। यसका कारण सर्वसाधारणलाई सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

बुलेटिनअनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र सुर्खेतलाई ‘सतर्क रहनुपर्ने’ सूचीमा राखिएको छ। त्यस्तै डडेलधुरा, अछाम, दैलेख, सल्यान, रोल्पा, प्युठान, दाङ, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा र परासीलाई ‘अध्यावधिक रहनुपर्ने’ श्रेणीमा राखिएको छ।

विभागकी मौसमविद बिनु महर्जनका अनुसार आगामी साताको सुरुवातदेखि मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना छ, जसले तापक्रम केही घटाउनेछ। “मध्यम वर्षा हुने सम्भावना रहेकाले गर्मी केही कम हुने देखिन्छ,” उनले भनिन्।

पूर्वानुमानअनुसार तराई, पहाड र हिमाली भेगमा क्रमशः पानी तथा हिमपात हुने सम्भावना रहेको छ। प्रि–मनसुनको समय भएकाले मेघगर्जन, चट्याङ, असिना र हावाहुरीको जोखिम पनि रहने विभागले जनाएको छ।

अत्यधिक गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले दिउँसो अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हलुका कपडा लगाउन र बालबालिका, वृद्ध तथा बिरामीको विशेष ख्याल राख्न विभागले सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।