लोड हुँदैछ...

मेनु

कोशीका तीन जिल्लामा स्विप अप्रेसन चलाएर २५४ जना पक्राउ

कोशीका तीन जिल्लामा स्विप अप्रेसन चलाएर २५४ जना पक्राउ

विराटनगर । कोशी प्रदेश प्रहरीले झापा, मोरङ र सुनसरीमा स्विप अप्रेसन सञ्चालन गर्दै २५४ जनालाई पक्राउ गरेको छ। लागुऔषध कारोबार, प्रयोग तथा आपराधिक गतिविधि नियन्त्रण गर्न अभियान चलाइएको हो।

प्रहरी प्रमुख विनोद घिमिरे (डीआईजी) ले २४ घण्टाभित्र परिणाम देखिने गरी कडा निर्देशन दिएपछि तीन जिल्लामा एकसाथ अप्रेसन सुरु गरिएको थियो। उनका अनुसार विगतका लागुऔषध सम्बन्धी मुद्दाका अभियुक्तहरूको रेकर्ड निकालेर खानतलासी गर्ने, पक्राउ गर्ने र आवश्यक कारबाही गर्ने निर्देशन दिइएको थियो।

मोरङमा ७२ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कट्वालका अनुसार पक्राउ पर्नेमा लागुऔषध प्रयोगकर्ता, बिक्री–वितरणमा संलग्न तथा समाजमा अशान्ति फैलाउने व्यक्तिहरू रहेका छन्। केहीको साथबाट लागुऔषधसमेत बरामद भएको छ।

सुनसरीमा १२० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार पक्राउ परेकामध्ये १५ जनालाई पुनर्स्थापना केन्द्र पठाइएको छ भने ७६ जनालाई आफन्तको जिम्मा लगाइएको छ। गम्भीर प्रकृतिका मुद्दामा संलग्न २ जना र १ जना फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याइएको छ। सो क्रममा २६.५६ ग्राम ब्राउन सुगर र ४४ पिस प्रतिबन्धित ट्याब्लेट बरामद गरिएको छ।

झापामा ६२ जना पक्राउ परेका छन्। डीएसपी खगेन्द्र कार्कीका अनुसार २० ग्राम ४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ। चेकजाँचका क्रममा प्रहरीमाथि अभद्र व्यवहार गर्ने ६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।

झापाको दमकस्थित ताराबारी क्षेत्रमा गरिएको परीक्षणमा ५४ चालक तथा सहचालकमध्ये केहीले लागुऔषध तथा मादक पदार्थ सेवन गरेको भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सीमा क्षेत्र तथा विभिन्न स्थानबाट ब्राउन सुगरसहित थप व्यक्तिहरू पनि पक्राउ परेका छन् भने अभियान अझै जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।