लोड हुँदैछ...

मेनु

संसदलाई पर्याप्त बिजनेस दिन अधिवेशन अन्त्यको सिफारिस गरिएको हो : मन्त्री पोखरेल

संसदलाई पर्याप्त बिजनेस दिन अधिवेशन अन्त्यको सिफारिस गरिएको हो : मन्त्री पोखरेल

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमित पोखरेलले संसदलाई पर्याप्त विजनेस (कार्यभार) दिने उद्देश्यले तत्कालका लागि संसद् अधिवेशन रोक्न राष्ट्रपतिसमक्ष अनुरोध गरिएको स्पष्ट पारेका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले संसद् अधिवेशन अन्त्यका लागि गरिएको पत्राचारलाई नकारात्मक रूपमा नलिन आग्रह गरे । सरकारले आगामी बजेट अधिवेशनमा धेरै विधेयकहरू पेश गर्ने तयारी गरिरहेकाले अहिलेको अधिवेशन रोक्नुपरेको उनको तर्क छ ।

‘संसद अधिवेशन अन्त्य गर्ने विषयलाई अन्यथा लिनुहुँदैन । हामी आगामी बजेट अधिवेशनमा धेरै विधेयकहरू ल्याउने प्रयास गर्दैछौं,’ मन्त्री पोखरेलले भने, त्यतिबेला संसदले पर्याप्त विजनेस पाउने सुनिश्चितताका लागि अहिले यो कदम चालिएको हो ।’

पछिल्लो समय सरकारले संसद छलेर अध्यादेश ल्याउन लागेको भन्दै भइरहेका चर्चाको खण्डन गर्दै मन्त्री पोखरेलले सरकारको त्यस्तो कुनै योजना नरहेको बताए । उनले सरकार नियमित संसदीय प्रक्रियाबाटै कानुन निर्माण गर्ने पक्षमा रहेको स्पष्ट पारे ।

उनले अगाडि भने, ‘हामी नियमित प्रक्रियाबाटै कानुन ल्याउँछौं । तत्काल कुनै अध्यादेश ल्याउने सरकारको सोच वा योजना छैन ।’

सरकारले संसदलाई प्रभावकारी बनाउन र महत्वपूर्ण विधेयकहरूमाथि पर्याप्त छलफल गराउन आगामी अधिवेशनमा ध्यान केन्द्रित गर्ने मन्त्री पोखरेलको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।