काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् प्रतिष्ठित व्यवसायी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले ४ दिनको म्याद थप गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को टोलीले गोल्छालाई बिहीबार काठमाडौंको नक्साल आसपासबाट पक्राउ गरेको थियो। पक्राउ परेको २४ घण्टाभित्रै उनलाई अदालतमा उपस्थित गराइएकोमा अदालतले थप अनुसन्धानका लागि ४ दिनको समय दिएको हो।
हिमालयन रिइन्स्योरेन्स लिमिटेडको विवादित सेयर कारोबारका क्रममा अर्बौँ रुपैयाँ हिनामिना गरिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको हो। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा गोल्छालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। उक्त विवादित कारोबारमा व्यवसायी दीपक भट्टको समेत संलग्नता रहेको र सोही आधारमा सरकारले कारबाही प्रक्रिया अघि बढाएको हो।
सरकारले गृहमन्त्री सुधन गुरुङको राजीनामाको भोलिपल्टै गोल्छालाई पक्राउ गरेको हो। यस प्रकरणमा गोल्छासहित अन्य ५ जनाको संलग्नता रहेको दाबी सरकारको छ।
हिमालयन रिइन्स्योरेन्सका पूर्वअध्यक्षसमेत रहेका गोल्छाविरुद्ध धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका विभिन्न दफाहरू आकर्षित गरिएको छ।
प्रहरीले थप प्रमाण संकलन र सोधपुछका लागि म्याद थप गरेको हो। सीआईबीले बिहीबार नै विज्ञप्ति जारी गर्दै धितोपत्र सम्बन्धी कसूरमा गोल्छालाई पक्राउ गरिएको पुष्टि गरेको थियो।
यसअघि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर मात्र गोल्छालाई नियन्त्रणमा लिएको थियो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।