लोड हुँदैछ...

मेनु

उपचारमा ४० लाख सकियो, छोरा बचाउन बाबुको हारगुहार

उपचारमा ४० लाख सकियो, छोरा बचाउन बाबुको हारगुहार

विराटनगर— सुनसरीको बर्जु गाउँपालिकाका २१ वर्षीय राहुल कामत विगत दुई वर्षदेखि मृत्युसँग जुधिरहेका छन् । दुवै मृगौलाले काम गर्न छाडेपछि ओछ्यान परेका राहुलको उपचारमा अहिलेसम्म ४० लाख रुपैयाँ खर्च भइसकेको छ । तर, रोग निको हुनुको साटो उपचार खर्च जुटाउन नसक्दा अहिले उनी मरणासन्न अवस्थामा पुगेका छन् ।

शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै राहुल र उनका बाबु दिनेश कामतले छोराको ज्यान बचाइदिन देश–विदेशका मनकारी हातहरूसँग सहयोगको याचना गरेका छन् । आर्थिक अवस्था निकै कमजोर रहेको यो परिवारले छोराको उपचारका लागि आफ्नो भएको जायजेथा सबै सिध्याइसकेको छ ।

“छोराको उपचारका लागि भएको १० धुर जग्गा ५ लाखमा बेचें,” बाबु दिनेशले भने, “त्यसले पनि पुगेन, ऋण खोजेर ४० लाख सकायौं । अब त न बेच्ने सम्पत्ति बाँकी छ, न ऋण पत्याउने कोही छन् ।”

राहुलको हाल विराटनगरस्थित कोसी अस्पतालमा नियमित डायलाइसिस भइरहेको छ । सरकारले डायलाइसिस सेवा निःशुल्क उपलब्ध गराए पनि औषधि र अन्य स्वास्थ्य परीक्षणका लागि मोटो रकम खर्च हुने गरेको उनले बताए । एकपटकको डायलाइसिस र त्यससँगै जोडिने औषधिमा २० हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेको परिवारको भनाइ छ ।

सुरुमा स्वास्थ्य बीमाबापत प्राप्त हुने १ लाख रुपैयाँले केही राहत मिले पनि त्यो रकम निकै अगाडि सकिएको दिनेशले जानकारी दिए । “कोसी अस्पतालमा डायलाइसिस त निःशुल्क हुन्छ, तर औषधि र अन्य खर्च धान्नै सकिएन,” उनले भने, “मेरो छोरालाई बचाइदिनुस्, हामीसँग अब अरू कुनै उपाय छैन ।”

काम गर्नुपर्ने उमेरका छोरा थला परेपछि र भएको सम्पत्ति रित्तिएपछि कामत परिवार यतिबेला निकै ठूलो संकटमा छ । पत्रकार सम्मेलनमा राहुल आफैंले पनि आफ्नो बाँच्ने इच्छा रहेको भन्दै सहयोगका लागि सबैसँग अनुरोध गरे ।

सहयोगका लागि:
मृगौला पीडित राहुललाई सहयोग गर्न चाहनेले एनआइसी एसिया बैंक, बर्जु शाखामा रहेको खाता नम्बर ३४३५७५३१२४६२८००१ मा रकम जम्मा गर्न सक्नेछन् । थप जानकारीका लागि उनका बाबु दिनेश कामतलाई ९८०४३८६८९४ मा सिधै सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।