लोड हुँदैछ...

मेनु

सुनसरीमा प्रहरीको ‘स्वीप अप्रेसन’ : १२० जना पक्राउ

सुनसरीमा प्रहरीको ‘स्वीप अप्रेसन’ : १२० जना पक्राउ

विराटनगर – सुनसरी प्रहरीले जिल्लाभर सञ्चालन गरेको विशेष ‘स्वीप अप्रेसन’का क्रममा १२० जनालाई नियन्त्रणमा लिएको छ । लागूऔषध बिक्री–वितरण, सेवन तथा समाजमा गुण्डागर्दी गरी हिँड्नेहरूलाई लक्षित गरी प्रहरीले यो अभियान चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले गत वैशाख ९ गते साँझदेखि वैशाख ११ गते बिहानसम्म उक्त अप्रेसन सञ्चालन गरेको थियो ।

सुनसरी प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) चन्द्र बहादुर खड्काका अनुसार पक्राउ पर्नेमा ११५ पुरुष र ५ जना महिला रहेका छन् । पक्राउ परेकामध्ये लागूऔषध दुर्व्यसनमा फसेका १५ जना १० पुरुष र ५ महिलालाई सुधार केन्द्र पठाइएको छ ।

त्यस्तै, सामान्य बदमासी गर्ने ७६ जना पुरुषलाई सम्झाई–बुझाई गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये २ जना पुरुषमाथि लागूऔषध मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ भने २६ जनामाथि थप अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए । लागूऔषध मुद्दाकै एक जना फरार प्रतिवादीको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

अप्रेसनका क्रममा प्रहरीले २६।५६ ग्राम ब्राउन सुगर र ४४ पिस विभिन्न लागूऔषध ट्याब्लेट समेत बरामद गरेको छ । जिल्लामा बढ्दै गएको लागूऔषध कारोबार र उच्छृङ्खल गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।