काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं प्रख्यात व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई बिहीबार काठमाडौंको नक्सालबाट नियन्त्रणमा लिएको हो ।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले गोल्छालाई बिहीबार दिउँसो नियन्त्रणमा लिइएको पुष्टि गरे । “उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो,” प्रवक्ता श्रेष्ठले भने, “अहिले सोधपुछ र थप प्रक्रिया अगाडि बढिरहेको छ ।”
गोल्छा नेपालको प्रतिष्ठित व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनका महत्वपूर्ण सदस्य हुन् । उनी नेपालका निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष समेत हुन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा हिरासतमा रहेका विवादित व्यवसायी दीपक भट्टको व्यावसायिक कारोबारमा ‘कनेक्सन’ देखिएपछि छानबिनका लागि गोल्छालाई पक्राउ गरिएको स्रोत बताउँछ।
धितोपत्र बोर्डले अध्ययन गरेर सार्वजनिक गरेको एक प्रतिवेदनमा भट्ट र गोल्छाबीच कनेक्सन देखिएको थियो। व्यवसायी शेखर गोल्छाले भट्टको कारोबारको रकम भुक्तानीमा सहयोग गरेको बोर्डको प्रतिवेदनमा छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।