विराटनगर । खोटाङको खोटेहाङ गाउँपालिकाले संघीय सरकारको निर्देशन अवज्ञा गर्दै आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।
दुई दिनको सार्वजनिक बिदाका कारण निर्धारित पाठ्यभार पूरा गर्न समस्या हुने जनाउँदै गाउँपालिकाले यस्तो निर्णय गरेको हो।
गाउँपालिकाका शिक्षा संयोजक तथा वडा नं. ६ इन्द्रेणीपोखरीका वडाध्यक्ष वसन्त राईका अनुसार वैशाख १० गतेसम्म भर्ना अभियान सञ्चालन गरी वैशाख १३ गते आइतबारदेखि नियमित पठनपाठन सुरु गरिनेछ। गत मंगलबार बसेको गाउँ शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो।
यसअघि नेपाल सरकार, मन्त्रिपरिषद्ले चैत १२ गते शनिबार र आइतबार हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले चैत २६ गते सबै ७७ जिल्लामा उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो।
संघीय सरकारले वैशाख १५ गतेबाट भर्ना अभियान र २१ गतेबाट मात्र कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । तर, धेरै स्थानीय तहले त्यसको आवज्ञा गरिसकेका छन् ।
खोटाङ जिल्लाका १० स्थानीय तहमा ४८३ सामुदायिक र १६ निजी विद्यालय सञ्चालनमा रहेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।