इटहरी । इटहरीमा तेस्रो मेयर कप अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता वैशाख १५ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ।
प्रतियोगिताबारे जानकारी आयोजक आइडियल स्पोर्ट्स एकेडेमीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। प्रतियोगिता इटहरी–९ स्थित जनता क्रिकेट पार्क (डिएमपीएम) मैदानमा आयोजना हुनेछ।
आयोजकका अनुसार प्रतियोगिता २०/२० ओभरको नकआउट आधारमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को नियमअनुसार सञ्चालन गरिनेछ। प्रतियोगितामा कुल १२ टिम सहभागी हुनेछन् र ११ खेल खेलाइने छन्।
सहभागी टोलीहरूमा इटहरी उपमहानगरपालिकाका तीन टिम (रातो, निलो र हरियो) सहित धरान उपमहानगरपालिका, विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका, मेचीनगर नगरपालिका, दुहबी नगरपालिका, त्रियुगा नगरपालिका, बराहक्षेत्र नगरपालिका, कटहरी गाउँपालिका र सुनवर्षी नगरपालिका रहेका छन्।
प्रतियोगिताको विजेताले नगद ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। ‘प्लेयर अफ द सिरिज’लाई ७ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही ४ हजार रुपैयाँ प्रदान गरिनेछ।
यसैगरी प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई १५ सय रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ। इटहरी उपमहानगरपालिकाको सहकार्य तथा कोशी प्रदेश क्रिकेट संघको सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।