लोड हुँदैछ...

मेनु

सहकारी पीडितको बचत फिर्ता गराउन महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

सहकारी पीडितको बचत फिर्ता गराउन महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

काठमाडौँ । सहकारीका बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी गरिरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न पक्षसँग चरणबद्ध छलफल गरेको छ । 

समस्याग्रस्त सहकारी संस्थाबाट रकम असुली गरी पीडित बचतकर्ताको निक्षेप फिर्ता गर्ने विषयमा केन्द्रित रहेर बुधवार बिहान मन्त्री प्रतिभा रावलले चार्टर्ड एकाउन्टेन्टहरुसँग छलफल गरेकी थिइन् । लगत्तै मन्त्री रावलले महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेल र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी मनोज केसीसँग छलफल गरेकी हुन् ।

समस्याग्रस्त सहकारीसँग सम्बन्धित मुद्दाहरूको अदालती प्रक्रियाको अवस्थाका विषयमा महान्यायाधिवक्ता डा.कँडेलले मन्त्रीलाई जानकारी गराएका थिए । यस्तै अनुसन्धानको अवस्थाबारे एआईजी केसीले ब्रिफिङ गरेका थिए ।

छलफल पछि महान्यायाधिवक्ता डा.कँडेल र एआईजी केसीले समस्याग्रस्त सहकारीमा अड्किएको रकम असुली प्रक्रियालाई तीव्रता दिन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । महान्यायाधिवक्ता डा.कँडेल बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियामा देखिने कानुनी जटिलता समाधान गर्न महान्यायाधिवक्ताको कार्यालयले विशेष भूमिका खेल्ने बताए । ‘समस्याग्रस्त सहकारीसम्बन्धी मुद्दा हेर्नका लागि महान्यायाधिवक्ताको कार्यालयमा छुट्टै डेस्क नै स्थापना भएको छ, यसले अझै प्रभावकारी भूमिका खेल्ने छ,’ उनले भने । उता, एआईजी केसीले भने ‘अनुसन्धानमा देखिएको केही जटिलतालाई कानुनी निरूपण गरी बचतकर्ताको रकम फिर्ताका लागि सीआईबीले आवश्यक समन्वय गर्ने’ बताए ।

छलफलपछि मन्त्री रावलले सरकारले १०० दिन भित्र सहकारी पीडितको रकम फिर्ता सुरु गर्ने घोषणा गरेकाले कुनै पनि प्रक्रियागत ढिलासुस्तीले रोकिनु पर्ने वातावरण सिर्जना नहोस् भन्ने ध्यान दिन आग्रह गरेकी थिइन् । यसअघि मन्त्री रावलले सहकारी क्षेत्र सुधारका लागि चार्टर्ड एकाउन्टेन्टहरूसँग छलफल गरेकी थिइन् ।

मन्त्रालयमा सहकारी नियमनकारी निकायका पदाधिकारी सहित आइक्यानका पदाधिकारीहरूसँग सहकारी संस्थाहरूमा देखिएका अनियमितता, अपारदर्शिता र वित्तीय अनुशासनको अभावलाई सुधार गर्न छलफल गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।