लोड हुँदैछ...

मेनु

शान्ति सम्झौता र गणतन्त्रका पक्षधर शक्तिबीच मोर्चाबन्दी अपरिहार्यः संयोजक प्रचण्ड

शान्ति सम्झौता र गणतन्त्रका पक्षधर शक्तिबीच मोर्चाबन्दी अपरिहार्यः संयोजक प्रचण्ड

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूबीचको मोर्चाबन्दी आजको प्रमुख आवश्यकता रहेको बताएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा जारी गरिएको शुभकामना सन्देशमा संयोजक प्रचण्डले नेपाली जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न शान्ति सम्झौताका सहयात्री र परिवर्तनका पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा विशेष जोड दिएका हुन् ।

सन्देशमा उनले भनेका छन्, ‘नेपाली जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी अपरिहार्य छ।’ उनले शान्ति प्रक्रियाका बाँकी कामहरूलाई तार्किक निष्कर्षमा पुर्‍याउँदै आम गरिब किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्ति अगाडि बढाउने जिम्मेवारी कम्युनिष्टहरूको काँधमा आएको उल्लेख गरेका छन् ।

वि.सं. २००६ साल वैशाख ९ मा स्थापित कम्युनिष्ट पार्टीको ऐतिहासिक सन्दर्भ जोड्दै उनले सामन्ती निरङ्कुशताको अन्त्य भए पनि शोषण र दमनका नयाँ स्वरूपहरू देखा परेकोतर्फ सचेत गराएका छन् । साँचो अर्थमा जनताको आफ्नै व्यवस्था पूर्ण रूपमा स्थापित गर्न अझै बाँकी रहेको बताउँदै संयोजक प्रचण्डले समाजमा विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहने दाबी गरेका छन् ।

वर्तमान विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध आक्रामक बन्दै गएको उल्लेख गर्दै उनले महान् लेनिनका शिक्षा र आदर्श आज झन् सान्दर्भिक बनेको उल्लेख गरेका छन् । ‘सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीचको एकता आजको ऐतिहासिक आवश्यकता हो,’ सन्देशमा भनिएको छ।

संयोजक प्रचण्डले विगतका बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरूमाथि प्रहार भइरहेको सन्दर्भमा ती उपलब्धिहरूको रक्षा गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि सबै पक्षलाई हार्दिक आह्वान समेत गरेका छन् ।

यस ऐतिहासिक अवसरमा उनले न्याय, स्वतन्त्रता र समानताका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्ग र शहीद परिवारप्रति उच्च सम्मान व्यक्त गरेका छन् । उनले विचारहरूको नयाँ संश्लेषणका साथ वामपन्थी आन्दोलनलाई एकताबद्ध बनाउने सङ्कल्प लिन सबैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।