विराटनगर । नेकपा एमालेका प्रभावशाली नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको पछिल्लो आन्तरिक शक्ति संघर्ष र कार्यशैलीलाई लिएर कडा टिप्पणी गरेका छन् । बास्कोटाले रास्वपा अब ‘फाईनल हाज्याक’ हुने दिशामा अघि बढेको दाबी गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले लेखेका छन्, “रास्वपामा अब फाईनल हाज्याक हुन बाँकी जस्तो देखियो । यद्यपि त्यो उनीहरुको मामिला हो ।” बास्कोटाको यो टिप्पणीलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ, विशेष गरी रास्वपा सभापति रवि लामिछानेको पार्टीभित्रको पकड र प्रभाव कमजोर हुँदै गएको संकेतका रूपमा यसलाई विश्लेषण गरिएको छ ।
रास्वपाले स्थापनाकालमा ‘राइट टु रिकल’ (प्रत्याह्वानको अधिकार) को नारालाई प्राथमिकताका साथ अघि सारेको थियो । विगतमा सामान्य आरोप र टिप्पणीकै आधारमा आफ्ना मन्त्रीहरूलाई पदबाट फिर्ता बोलाएर ‘नैतिकता’को राजनीति गरेको दाबी गर्ने सो पार्टी अहिले भने आफ्नै नेतृत्वमाथि उठेका प्रश्नहरूमा मौन देखिएको छ । विशेषगरी, गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न गम्भीर आरोप, आशंका र उनका विवादित सम्बन्धहरूका बारेमा तथ्यहरू सार्वजनिक भइरहँदा पनि पार्टीले देखाएको ‘अन्देखा’ र प्रतिरक्षा गर्ने शैलीप्रति बास्कोटाले कटाक्ष गरेका हुन् ।
यसअघि रास्वपाभित्र उपसभामुखको निर्वाचन र गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा सभापति लामिछाने र पार्टीका अन्य वरिष्ठ नेताहरूबीच गम्भीर मतभेद र विचार बाझिएको कुरा सतहमा आएको थियो । पार्टीको आन्तरिक निर्णय प्रक्रियामा देखिएको यो अन्योल र नेतृत्वको स्वेच्छाचारिताले गर्दा पार्टीको मौलिक पहिचान नै संकटमा परेको र अन्ततः पार्टी अर्कैको नियन्त्रण वा ‘हाइज्याक’ हुने अवस्थामा पुगेको बास्कोटाको विश्लेषण रहेको छ ।
यद्यपि, उनले आफ्नो टिप्पणीको अन्त्यमा “यो उनीहरूको मामिला हो” भन्दै रास्वपाको आन्तरिक कलहप्रति व्यङ्ग्य समेत गरेका छन् । रास्वपाभित्रको पछिल्लो घटनाक्रम र नेतृत्वमाथि चुलिँदै गएको अविश्वासका बीच बास्कोटाको यो भनाइले राजनीतिक माहोल थप तातेको छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।