काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति बैठकमा गृहमन्त्री सुधन गुरूङसँग जोडिएको विवादबारे कुनै छलफल नै नभएको खुलेको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले संगठनात्मक विषयमा केही निर्णय गरेपनि गृहमन्त्री गुरूङको सम्पत्ति स्रोत र विवादित व्यापारिक सम्बन्धबारे उठिरहेका प्रश्नहरूमा छलफल नभएको हो ।
बैठकको एजेन्डामा गृहमन्त्रीको विषय नपरेको र बैठकमा समेत कसैले नउठाएको एक केन्द्रीय सदस्यले बताएका छन्। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले गृहमन्त्रीसम्बन्धी विषय बैठकमा प्रस्तावको रुपमा छलफल नभएको बताए ।
कुनै विषयमा निष्कर्षमा पुग्न प्रस्ताव, छलफल, निष्कर्ष र निर्णय गरी चार चरण पार गर्नुपर्ने उल्लेख गर्दै झाले हालसम्म उक्त विषयमा पर्याप्त छलफल नभएको उल्लेख गरे । ‘जुन कुरामा प्रस्ताव र छलफल नै यथेष्ट भएको छैन, त्यसमा निर्णय सुनाउन मिल्दैन,’ उनले भने, ‘अहिले यो विषयलाई छलफलकै चरणमा बुझ्नुपर्छ।’
पत्रकारहरूले गृहमन्त्रीबारे पार्टी नेताहरू बोल्न नखोजेको हो कि भन्ने प्रश्न गर्दा झाले आवश्यक प्रक्रिया नपुगेको विषयमा औपचारिक धारणा दिन नमिल्ने बताएका थिए। उनले बैठकमा उक्त विषय उठेको भए सम्बन्धित नेताहरू जवाफदेही हुने भन्दै पन्छिए ।
विगतमा श्रम मन्त्रीबाट दीपककुमार साहलाई हटाइएको प्रसंग उठाउँदा झाले त्यो निर्णय पनि प्रक्रिया अनुसार भएको दाबी गरे। साहले भने आफूलाई स्पष्टिकरणको मौका पनि नदिई बर्खास्त गरेको गुनासो गर्दै आएका छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गृहमन्त्री गुरूङको व्यापारिक साझेदारी रहेको तथ्य सार्वजनिक भएपछि उनको राजीनामा माग भइरहेको छ । रास्वपाले भने उक्त विषयलाई हालसम्म औपचारिक रूपमा छलफलमा पनि ल्याएको छैन ।
भट्ट जोडिएका कम्पनीमा गृहमन्त्री संस्थापक शेयरधनी रहेको खुलेको छ । तर, त्यो विषयलाई उनले हालै सार्वजनिक गरेको सम्पत्ती विवरणमा खुलाएका थिएनन् । तथ्य बाहिरिएपछि उनले ऋण लिएर शेयर खरिद गरेको जिकिर गरको छन् । तर, उनको सम्पत्ती विवरणमा ऋण लिएको विषय पनि उल्लेख छैन । जसले गर्दा उनको स्पष्टिकरण नै शंकास्पद र विवादित बनेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।