विराटनगर । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टी विधान विपरीत गतिविधि गरेको भन्दै पूर्वउपसभापति पूर्णबहादुर खड्कामाथि सुरु गरेको कारबाही प्रक्रियालाई थप अगाडि बढाउने भएको छ । यस विषयमा छलफल गर्न समितिको बैठक सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।
समितिले खड्कालाई पदको दुरुपयोग गरी अनधिकृत रूपमा विज्ञप्ति जारी गरेको अभियोगमा स्पष्टीकरण सोधिसकेको छ । अब बस्ने बैठकले उनले दिएको स्पष्टीकरण (यदि बुझाएको भए) माथि अध्ययन गर्ने र स्पष्टीकरण चित्तबुझ्दो नभए वा नबुझाए विधानबमोजिम थप कडा कारबाहीको निर्णय गर्ने बुझिएको छ ।
अनुशासन समितिले खड्कामाथि मुख्य गरी पार्टीको लेटरप्याड र पदको दुरुपयोग गरेको गम्भीर आरोप लगाएको छ । गत वैशाख २ गते खड्काले आफू बहाल नरहेको पद (कार्यवाहक सभापति) उल्लेख गरी पार्टीको लेटरप्याडमा विज्ञप्ति जारी गरेका थिए । समितिको निर्णयमा भनिएको छ, ‘अनधिकृत रूपमा विज्ञप्ति जारी गर्ने कार्य पार्टी विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम दण्डनीय छ ।’
यसअघि चैत १४ गते पनि खड्काले कार्यवाहक सभापतिको हैसियतमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेको विषयमा विज्ञप्ति निकालेका थिए भने चैत १७ गते कार्यसमिति बैठक समेत बोलाएका थिए । यी सबै कार्यलाई समितिले ‘अनधिकृत’ ठहर गरेको छ ।
समितिका संयोजक तारामान गुरुङका अनुसार खड्कालाई सात दिनभित्र स्पष्टीकरण बुझाउन समय दिइएको थियो । तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआएमा समितले उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन वा अन्य अनुशासनको कारबाही सिफारिस गर्न सक्ने प्रावधान छ ।
यसैबीच, अनुशासन समितिको बैठक बस्नुअघि राजनीतिक वृत्तमा हलचल देखिएको छ । पार्टी सभापति गगन थापाले आइतबार खड्कासँग भेट गरी यो विवाद सल्टाउने प्रयास गरेका थिए । तर, अनुशासन समितिले भने विधानको उल्लंघनमा शून्य सहनशीलता अपनाउने संकेत देखाएको छ । आजको बैठकले खड्काको राजनीतिक भविष्य र पार्टीभित्रको अनुशासनको मर्यादाबारे ठोस निर्णय लिने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।