धरान । सुनसरीको धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२–८३ को आम्दानी लक्ष्य अनुसार उठ्न नसक्दा बजेट कार्यान्वयनमै चुनौती देखिएको छ।
वार्षिक २ अर्ब २० करोड रुपैयाँभन्दा बढी आम्दानीको लक्ष्य राखिएकोमा ९ महिनासम्ममा आधा मात्रै राजस्व संकलन भएपछि उपमहानगरपालिका बजेट संशोधन गर्न बाध्य भएको छ ।
१८औँ मध्यावधि नगर सभामा कार्यवाहक प्रमुख अईन्द्रविक्रम बेघाले प्रस्तुत गरेको विवरणअनुसार चैत मसान्तसम्म १ अर्ब ११ करोड ८४ लाख रुपैयाँ मात्रै आम्दानी भएको छ । जुन कुल लक्ष्यको ५०.६६ प्रतिशत हो। आम्दानीको अनुमान निकै कमजोर देखिएपछि बजेटमा विनियोजित पुँजीगत खर्च घटाएर करिब १३ प्रतिशतमा सीमित गरिएको छ।
मध्यावधि समीक्षाले आन्तरिक आय झनै कमजोर रहेको देखाएको छ। सडक बोर्डको रकम र अघिल्लो वर्षको मौज्दात हटाएर हेर्दा आन्तरिक आम्दानी २४.२४ प्रतिशत मात्रै रहेको तथ्य नगर सभामा प्रस्तुत गरिएको छ। उपमहानगरले बीपी प्रतिष्ठानबाट ८ करोड, घरबहाल करबाट १० करोड, व्यवसाय करबाट ६ करोड र नयाँ बसपार्क सञ्चालनबाट १ करोड ५० लाख रुपैयाँ उठाउने लक्ष्य राखेको थियो। तर, यी स्रोतबाट अपेक्षित आम्दानी हुन नसकेको जनाइएको छ।
खर्चतर्फ पनि प्रगति सन्तोषजनक देखिएको छैन। हालसम्म ७६ करोड ९६ लाख ७९ हजार रुपैयाँ मात्रै खर्च भएको छ । जुन कुल बजेटको ३४.८६ प्रतिशत हो। चालु खर्च ५३.५१ प्रतिशत, पुँजीगत खर्च १३.२१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३६ प्रतिशत खर्च भएको विवरण छ।
कार्यवाहक प्रमुख बेघाले ढिलो बजेट स्वीकृति, चाडपर्व, आन्दोलन तथा निर्वाचनजस्ता कारणले पुँजीगत खर्चमा ढिलाइ भएको बताए। उनले आगामी दिनमा खर्च वृद्धि गर्ने लक्ष्य राखिएको जानकारी दिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।