लोड हुँदैछ...

मेनु

अन्तर्राष्ट्रिय ब्रान्ड बनेको इलामको जस्बिरे चिया

अन्तर्राष्ट्रिय ब्रान्ड बनेको इलामको जस्बिरे चिया

इलाम । इलाम नगरपालिका–४ जस्बिरे गाउँमा स्थापना भएको ‘जस्बिरे चिया प्रशोधन उद्योग’ नेपाली चिया क्षेत्रको सफल र उदाहरणीय ब्रान्डका रूपमा स्थापित भएको छ।

करिब एक दशकअघि जम्मा १४ लाख रुपैयाँ लगानीबाट सुरु गरिएको यो उद्योग अहिले ८ करोड रुपैयाँभन्दा बढी लगानीमा विस्तार भइसकेको छ।

उद्योगको आधार भने २०४२ सालमै तयार भएको थियो, जब पत्रकार तथा लेखक स्वर्गीय भैरव रिसाल गाउँमा आएर स्थानीयलाई आलुखेतीसँगै चियाखेती गर्न प्रेरित गरेका थिए। त्यही प्रेरणाबाट सुरु भएको चियाखेती आज गाउँकै मुख्य आयस्रोत बनेको छ।

सूर्य सुब्बाका चार छोरामध्ये शरद र गृष्मले उद्योग स्थापना गरेका हुन्। अहिले परिवारका सबै सदस्य उद्योगमा सक्रिय छन्। गृष्म बजार व्यवस्थापन हेर्छन् भने शरद ‘बेस्ट टी मेकर’ का रूपमा चिनिन्छन्। उनले ‘नेपाल टी च्यालेन्ज–२०२४’ मा उत्कृष्ट चिया निर्माता अवार्ड समेत जितेका छन्।

उद्योगले हाल वार्षिक करिब ३० हजार केजी अर्गानिक अर्थोडक्स चिया उत्पादन गर्दै आएको छ भने अब एक लाख केजी उत्पादन गर्ने लक्ष्य राखिएको छ। उत्पादित चिया नेपालसहित अमेरिका, जापान, फ्रान्स, चीन, नेदरल्याण्ड, डेनमार्क र जर्मनीसम्म निर्यात हुन्छ।

विशेषगरी ‘स्पेशल टी’ यस उद्योगको पहिचान बनेको छ। एक पात एक सुइरोदेखि विभिन्न प्रकारका चियाको स्वाद मौसम, उचाइ र उत्पादन विधिअनुसार फरक हुन्छ। यस्ता चियाको मूल्य प्रतिकेजी १५ हजार रुपैयाँदेखि अन्तर्राष्ट्रिय बजारमा एक लाख रुपैयाँसम्म पुग्ने गरेको छ।

उद्योगले आफ्नै ६० रोपनी जमिनमा चियाखेती गरेको छ भने थप ४०० रोपनी जमिन भाडामा लिएर खेती विस्तार गरेको छ। गाउँका १८५ घरपरिवारले उत्पादन गरेको चिया यही उद्योगमा खपत हुने गरेको छ, जसले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाएको छ।

दुई वर्षअघि आगलागी भएर उद्योग पूर्ण रूपमा ध्वस्त हुँदा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको थियो। त्यसपछि पुनः शून्यबाट सुरु गर्दै अहिले उद्योग पुनर्निर्माण गरेर अघि बढिरहेको छ। हाल उद्योगमा २६ जना नियमित कामदार कार्यरत छन्।

स्थानीय किसानहरूका लागि यो उद्योग वरदान सावित भएको छ। गाउँमै उत्पादन हुने चिया सहजै बिक्री हुने भएपछि अन्य खेती छाडेर धेरै किसान चियाखेतीतर्फ आकर्षित भएका छन्।

उद्योग सञ्चालक गृष्म सुब्बाका अनुसार नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा ठूलो सम्भावना भए पनि पर्याप्त प्रचार–प्रसार हुन सकेको छैन। सरकारबाट अनुदानभन्दा बढी प्रभावकारी मार्केटिङ आवश्यक रहेको उनको भनाइ छ।

जस्बिरे गाउँको चिया र त्यससँग जोडिएको इतिहासले देखाउँछ—सही ज्ञान, मेहनत र निरन्तरताले सानो गाउँबाट पनि विश्व बजारमा पहिचान बनाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।