लोड हुँदैछ...

मेनु

विद्युतीय उपकरण र सवारीमा सहुलियत दिन उज्यालो नेपाल पार्टीको माग

विद्युतीय उपकरण र सवारीमा सहुलियत दिन उज्यालो नेपाल पार्टीको माग

विराटनगर। उज्यालो नेपाल पार्टीले पेट्रोलियम पदार्थको परनिर्भरता घटाउन विद्युतीय चुलो, उपकरण र सवारी साधनको प्रयोगमा विशेष सहुलियत दिन सरकारसँग जोडदार माग गरेको छ। इन्धनको लगातारको मूल्यवृद्धिले सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको भन्दै पार्टीले स्वदेशी ऊर्जाको खपत बढाउने ठोस नीति ल्याउन सरकारको ध्यानाकर्षण गराएको हो।

पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेपछि इन्धन बजारमा स्थिरता आउने अपेक्षा गरिए पनि वास्तविकता ठिक उल्टो देखिएको भन्दै आपत्ति जनाएको छ। हाल काठमाडौँमा पेट्रोल प्रतिलिटर २१९ र डिजेल २३७ रुपैयाँ पुग्नु अस्वाभाविक भएको पार्टीको ठहर छ।

इन्धनको मूल्यवृद्धिको असर पेट्रोल पम्पमा मात्र सीमित नभई ढुवानी, कृषि, उद्योग र विद्यालयदेखि अस्पतालसम्म पुग्ने विज्ञप्तिमा उल्लेख छ। “बजारमा एक पटक लागत बढेपछि इन्धनको मूल्य घट्दा पनि अन्य वस्तुको भाउ नघट्ने प्रवृत्तिले महँगीलाई थप प्रश्रय दिएको छ,” विज्ञप्तिमा भनिएको छ।

उज्यालो नेपाल पार्टीले नेपाल र भारतको सीमावर्ती बजारबीचको मूल्य अन्तरका कारण हुने चोरीपैठारी र अवैध कारोबारप्रति पनि सचेत गराएको छ। भारतको रक्सौलभन्दा नेपालमा पेट्रोल ४८ र डिजेल ८८ रुपैयाँ महँगो हुँदा राजस्वमा समेत नकारात्मक असर पर्ने देखिएकाले मूल्य समानीकरण संयन्त्र बनाउन पार्टीले माग गरेको छ।

सरकारसमक्ष राखिएका अन्य प्रमुख मागहरूमा पेट्रोलियम पदार्थमा लगाइएका कर र भन्सार शुल्कको तत्काल पुनरावलोकन गरी मूल्य घटाउने, मूल्य स्थिरिकरण कोषको रकम जनतालाई राहत दिन प्रयोग गर्ने र बजारमा हुने कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रणका लागि कडा अनुगमन गर्ने रहेका छन्। साथै, आयल निगमको कर संरचना र नाफा-नोक्सानको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गर्न समेत पार्टीले सरकारसँग माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।