विराटनगर । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा कोशी प्रदेशको जनजीवन प्रभावित भएको छ। प्रदेश राजधानी विराटनगरसहित आसपासका क्षेत्रमा अहिले मौसम बदली भई फाटफुट वर्षा भइरहेको छ। कोशी प्रदेशको तराई क्षेत्रमा बिहानैदेखि बाक्लो बादल लागेको छ भने पहाडी र हिमाली भूभागमा पनि मौसममा सुधार आउन सकेको छैन।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशीको तराई क्षेत्रमा समेत बादल लाग्ने र मौसम बदली रहने भएकाले वर्षाको सम्भावना कायमै रहनेछ। आज राति पनि कोशी प्रदेशको पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बादल लाग्ने र एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आज दिउँसो साधारणतया बादल लाग्नेछ। केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। कोशीमा वर्षा र बादल लागे पनि मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने गर्मी बढ्ने र ‘तातो दिन’ हुने सम्भावना छ। ती क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार देशका विभिन्न भागमा वर्षा, हिमपात र चट्याङ्गको सम्भावना रहेकाले कृषि, स्वास्थ्य र पर्वतारोहणमा संलग्न रहेकाहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।