संखुवासभा । कोशी प्रदेशमा फैलिँदै गएको बर्डफ्लु संक्रमण नियन्त्रणका लागि संखुवासभामा प्रतिबन्धित क्षेत्रबाट अवैध रूपमा ल्याइएका ४ हजारभन्दा बढी चल्ला नियन्त्रणमा लिएर नष्ट गरिएको छ।
जिल्ला प्रशासन, सुरक्षा निकाय तथा भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त पहलमा तीन वटा गाडीमार्फत ल्याइएका ४ हजार १ सय चल्ला नियन्त्रणमा लिइएको थियो। ती चल्ला मोरङको बुढीगंगास्थित भिजु पोल्ट्री फर्मबाट ल्याइएको पुष्टि भएपछि तत्काल नष्ट गर्ने निर्णय गरिएको हो।
केन्द्रका प्रमुख हिमालय पोख्रेलका अनुसार करिब ३ लाख रुपैयाँभन्दा बढी मूल्यका चल्ला सार्वजनिक स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै नष्ट गरिएको हो। संक्रमण फैलिने उच्च जोखिम रहेकाले कडा निर्णय लिनुपरेको उनले बताए।
बर्डफ्लु रोग नियन्त्रण समितिको बैठक घाङरी लामाको संयोजकत्वमा बसेको थियो। कोशी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा संक्रमण पुष्टि भइसकेकाले उच्च सतर्कता अपनाइएको जनाइएको छ।
समितिले प्रतिबन्धित क्षेत्रबाट पशुपन्छी ओसारपसार नगर्न कडा चेतावनी दिएको छ। नियम उल्लंघन गर्नेहरूलाई कानुन अनुसार कारबाही गरिने समेत जनाएको छ।
पशु सेवा विज्ञ केन्द्रले किसान तथा व्यवसायीलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै प्रतिबन्धित क्षेत्रबाट कुखुरा तथा कुखुराजन्य वस्तु नल्याउन अपिल गरेको छ। बर्डफ्लुजस्तो संक्रामक रोग नियन्त्रणका लागि सबै सरोकारवालाको सचेतता र सहकार्य आवश्यक रहेको बताइएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।