लोड हुँदैछ...

मेनु

अझै घट्यो बैंकको ब्याजदर, कुन बैंकमा कति पाइन्छ ?

अझै घट्यो बैंकको ब्याजदर, कुन बैंकमा कति पाइन्छ ?

विराटनगर । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाएका छन्। चैत महिनाको तुलनामा वैशाखमा ९ वटा बैंकले ब्याजदर घटाएका हुन् भने १० वटा बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन्।

विवरण अनुसार हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ०.५० प्रतिशत विन्दुले ब्याजदर घटाएको छ। सिद्धार्थ बैंक र एनआईसी एशिया बैंकले व्यक्तिगत र संस्थागत दुवैतर्फको ब्याजदरमा ०.२५ प्रतिशत विन्दुले कटौती गरेका छन्।

त्यसैगरी, व्यक्तिगततर्फ सिटिजन्स बैंकले ०.३५, राष्ट्रिय वाणिज्य बैंकले ०.२५, एभरेष्ट बैंकले ०.२०, कुमारी बैंकले ०.०७ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०१ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्। नबिल बैंकले भने व्यक्तिगततर्फ स्थिर राखेर संस्थागत निक्षेपको ब्याजदरमा मात्र ०.५४ प्रतिशत विन्दुले कमी ल्याएको छ।

वैशाखका लागि ब्याजदर स्थिर राख्ने १० बैंकहरूमा प्राइम कमर्सियल, नेपाल बैंक, ग्लोबल आईएमई, माछापुच्छ्रे, नेपाल एसबीआई, लक्ष्मी सनराइज, सानिमा, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु र एनएमबि बैंक रहेका छन्। यी बैंकहरूमा चैत महिनाकै ब्याजदर कायम रहनेछ।

यसपटक ब्याजदर बढाउनेमा कृषि विकास बैंक एक्लो देखिएको छ। उक्त बैंकले साधारण बचतदेखि संस्थागत मुद्दती निक्षेपसम्मको ब्याजदरमा ०.०३ प्रतिशत विन्दुले सामान्य वृद्धि गरेको छ। बजारमा तरलता सहज हुँदै जाँदा बैंकहरूले लागत घटाउन ब्याजदर कटौतीको बाटो रोजेका हुन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।