लोड हुँदैछ...

मेनु

परिवर्तनको झण्डा बोक्नेलाई ‘इस्क’ गर्ने छुट छैन : गोपाल किराती

परिवर्तनको झण्डा बोक्नेलाई ‘इस्क’ गर्ने छुट छैन : गोपाल किराती

विराटनगर । नेकपाका केन्द्रीय सचिवालय सदस्य गोपाल किरातीले राजनीति सबैभन्दा संवेदनशील र विवादास्पद क्षेत्र भएको भन्दै यसमा लाग्नेहरूले उच्च नैतिक आचरण कायम राख्नुपर्नेमा जोड दिएका छन् । समाज परिवर्तनको अठोट लिएर हिँडेको व्यक्तिले सामाजिक मर्यादा विपरितका गतिविधि गरेमा त्यसले राजनीतिक गन्तव्य नै समाप्त पार्ने उनले चेतावनी दिएका छन् ।

नेता किरातीले एसियाली समाजमा क्रान्तिकारी नेताहरूको चरित्र र नैतिकतालाई समाजले सूक्ष्म रूपमा हेर्ने बताए । उनले भने, “समाज परिवर्तनको अठोट लिएर हिँडेको मानिसले ‘इस्क’ (प्रेम-सम्बन्ध) गर्दै हिँडेको समाजले देख्यो भने उसले जनविश्वास गुमाउँछ । सार्वजनिक नैतिकता गुमाएको ‘नैतिक हराम’ व्यक्तिले राजनीतिक क्रान्ति गर्न सक्दैन ।”

उनले आफ्नो अनुभव सुनाउँदै १८ वर्षकै उमेरमा शोषक विरुद्ध क्रान्तिको झण्डा उठाउँदा आफूहरूले युवावस्थाको स्वभाविक र स्वतन्त्र जीवन गुमाउनु परेको उल्लेख गरे । राजनीतिमा लागेकाहरू तन्नेरी नहुँदै वैचारिक रूपमा ‘बूढो’ हुनुपर्ने बाध्यता सुनाउँदै उनले अहिलेका कतिपय सांसदहरूको व्यवहारप्रति तीव्र असन्तुष्टि जनाए ।

प्रतिनिधिसभाका कतिपय सदस्यहरूलाई ‘ढोंगी र पाखण्डी’ को संज्ञा दिँदै किरातीले उनीहरूबाट संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र कार्यान्वयन सम्भव नभएको दाबी गरे । राजनीति अत्यन्तै चुनौतीपूर्ण र विवादास्पद बाटो भएकोले यसमा पाइला चाल्दा ‘होसियार’ रहन उनले सम्बद्ध सबैलाई आग्रह गरेका छन् ।

गोपाल किरातीको भनाइ जस्ताको तस्तै:

होसियार !
राजनीतिक क्षेत्र सबै भन्दा सार्वजानीनिक, सबै भन्दा समवेदनशील र सबै भन्दा विवादास्पद हुने गर्छ, जुन स्वभाविक पनि हो।
अत: सानो उमेरदेखि राजनीतिक यात्रामा प्रवेश अनुभवको हिसाबले व्यापक हुने भइहाल्यो, तर जिम्मेवार मानिसले स्वतन्त्र तथा स्वभाविक जीवन चाहिँ गुनाउनु पर्ने हुन्छ। अनुभवशिद्व ज्ञान कि हामी तन्नेरी नभइ १८ बर्षको उमेरमै बुढा हुन पुगेका मानिस हौं। कारण, १८ बर्षको उमेरमा शोषकलाई मास्ने र गरिबको राज्य खडा गर्ने भनेर क्रान्तिको झण्डा उठाउने अठोट गरिहालियो। तब तन्नेरी हुन पाइयो त ? यहाँ तन्नेरी हुने भनेको समकालीन तरुणीहरुसंगको हेलमेल वा हिन्दीमा भन्दा “ईस्क” व्यवहार हो।

परन्तु, समाज परिवर्तनको अठोट लिएर हिँडेको मानिसले ईस्क गर्दै हिँडेको समाजले देख्यो भने के होला ? एसियाली समाजमा त्यस्तो गतिविधि मान्य र पाच्य हुनै सक्दैन। तब ठाडै विवादमा परिने हुन्छ। उप्रान्त जनविस्वास गुम्ने स्थिति स्वतः प्रष्ट छ। परिणामस्वरुप सार्वजानिक नैतिकता गुम्ने भइ त हाल्यो। नैतिक हरामलाई कसले पत्याइदेला र राजनीतिक क्रान्ति गरोस् ?
जिम्मेवार महिलाको जीवनमा पनि यही नियम लागू हुने हो।

तर, आजको पुस्ता? प्रतिनिधिसभाका कतिपय सदस्यहरुको चर्तिकला हेर्दा ती किमार्थ जिम्मेवार देखिन्नन्, बरु ढोंगी र पाखण्डी प्रतीत् छन्। त्यस्ता हरामखोरहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र कार्यान्वयन गर्न सक्दैनन्।
होसियार!

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।