विराटनगर । सुनसरीको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका साना बचतकर्ताले अब आफ्नो बचत फिर्ता पाउने भएका छन्।
कोशी प्रदेश सरकारमार्फत सुरु गरिएको प्रक्रिया अन्तिम चरणमा पुगेपछि सोमबारदेखि २० हजार रुपैयाँसम्म बचत गरेका व्यक्तिहरूलाई रकम फिर्ता गर्न थालिने भएको हो।
उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.पशुपति ढुंगानाका अनुसार पहिलो चरणमा साना बचतकर्तालाई प्राथमिकतामा राखिएको छ। उनीहरूको रकम सिधै बैंक खातामा पठाइने व्यवस्था गरिएको छ, जसले प्रक्रिया सहज बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमको औपचारिक घोषणा इस्राइल मन्सुलीले गर्नेछन् । प्रदेश सरकारले सहकारीलाई २०८१ पुस २३ गते समस्याग्रस्त घोषणा गरेको थियो। छानबिनका क्रममा सहकारीका अध्यक्ष फणिन्द्र मगरलगायतले करिब ९ हजार बचतकर्ताबाट संकलित ४२ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको खुलेको थियो। पक्राउ गरेर झुक्का कारागारमा राखिएका उनी जेन्जी आन्दोलनको क्रममा भागेपछि फरार छन्।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार पहिलो चरणमा २८७ जना बचतकर्तालाई करिब १ करोड ३८ लाख रुपैयाँ फिर्ता गरिनेछ। हालसम्म १ हजार १७३ जनाले करिब २४ करोड ८८ लाख रुपैयाँ दाबी गरिसकेका छन्।
यो पहलले सहकारी क्षेत्रप्रति घट्दो विश्वास पुनःस्थापित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। यद्यपि, सबै बचतकर्ताले रकम फिर्ता पाउन अझै केही समय लाग्ने जनाइएको छ।
प्रदेश सरकारले सहकारीलाई २०८१ पुस २३ गते समस्याग्रस्त घोषणा गरेको थियो। त्यसअघि पुस १८ गते वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको संयोजकत्वमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरिएको थियो। समितिले संस्थाको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै सम्पत्ति व्यवस्थापन, ऋण असुली तथा धितो लिलाम प्रक्रिया अघि बढाएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य जीवन काफ्लेका अनुसार पहिलो चरणमा २० हजार रुपैयाँसम्म बचत गरेका २८७ जना बचतकर्तालाई करिब १ करोड ३८ लाख रुपैयाँ फिर्ता गरिनेछ। हालसम्म १ हजार १७३ जना बचतकर्ताले झन्डै २४ करोड ८८ लाख रुपैयाँ बराबरको दाबी पेस गरिसकेका छन्।
समितिले ऋणीबाट रकम असुली प्रक्रिया तीव्र बनाउँदै आएको छ। बैंकमार्फत ऋण असुली गर्ने व्यवस्था मिलाइएको र गलत रूपमा ऋणी देखाइएका केही बचतकर्ताको हिसाब मिलान गरी यसअघि नै करिब २ करोड रुपैयाँ फिर्ता गरिसकिएको जनाइएको छ।
हाल असुल भएको रकममध्ये करिब १ करोड ३८ लाख रुपैयाँ साना बचतकर्तालाई वितरण गर्न लागिएको हो। आगामी दिनमा थप रकम असुली गर्दै चरणबद्ध रूपमा सबै बचतकर्तालाई बचत फिर्ता गर्ने योजना रहेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।